स्पट फिक्सिङ प्रकरणमा मुछिएका आदिलको निलम्बन फुकुवा

नेपाली क्रिकेटका युवा अलराउन्डर आदिल अन्सारीको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले स्पट फिक्सिङ प्रकरणमा मुछिएका अन्सारीमाथिको निलम्बन फुकुवा गरेको जानकारी दिएको छ ।
२१ वर्षीय अन्सारी दुई वर्षअघि आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका दौरान स्पट फिक्सिङ काण्डमा मुछिएपछि क्यानले उनलाई निलम्बनगरेको थियो ।स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टिमका सदस्यसमेत रहेका अन्सारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी क्यानले प्रतिबन्ध लगाएको थियो ।
निलम्बन फुकुवा भएसँगै उनको राष्ट्रिय टोलीको ढोकापनि खुलेको छ ।फिक्सिङ प्रकरण अगाडि नियमित राष्ट्रिय टोलीमा रहँदै आएका युवा अलराउन्डर अन्सारी विस्फोटक ब्याटिङ र मध्यम गतिको बलिङको लागि चिनिदै आएका छन् । प्रतिबन्धमा परेपछि उनले विभिन्न ठाउँमा सामान्य प्रतियोगिताहरुमा भने सहभागिता जनाएका थिए ।
स्पट फिक्सिङ प्रकरणमा आदिलसँगै नेपाली टिमकै पूर्वसदस्य महबुब आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । तर २०८० चैत्र १३ गते जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका खेलाडीहरू विरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गरेको दाबी नपुग्ने भन्दै सफाइको निर्णय सुनाएको थियो ।
टिप्पणीहरू