बीमा रकम खान खोज्ने शाखा प्रबन्धक पक्राउ

बीमा रकम खान खोज्ने शाखा प्रबन्धक पक्राउ

बीमा रकममा ठगी गरेको आरोपमा मोरङको विराटनगरस्थित सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक कर्मचारी पक्राउ परेका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्युपछि हकवालाले पाउनुपर्ने रकम झ्वाम्म पारेको आरोपमा कम्पनीका शाखा प्रबन्धक सन्तोष अधिकारी समातिएका हुन् । केराबारी गाउँपालिका–९, देवीझोडाका ३७ वर्षीय नईन्द्र विश्वकर्माको मृत्युपछि श्रीमती भिमकुमारीले बीमा रकम दाबी गरेकी थिइन् । 

उनले झुक्यानमा पारेर विभिन्न कागजात र खाली चेकमा सही गर्न लगाएर आपराधिक ठगी गरेको उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी इनरदेव यादवको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, मोरङले समातेको हो । विराटनगर महानगरपालिका–३ घर भएका सन्तोषविरुद्ध अदालतमा मुद्दा दायर गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । भिमकुमारीका अनुसार नईन्द्र वैदेशिक रोजगारीका लागि एक वर्षअगाडि बहराइन गएका थिए । गएको केही समयमै मिर्गौला फेल भएको थाहा पाएपछि स्वदेश फर्किएका उनको उपचारको क्रममा मृत्यु भएको हो । 

श्रीमानको मृत्युपछि हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बीमाबापतको १३ लाख रुपैयाँ लिन भिमकुमारी इन्स्योरेन्स कार्यालय पुगिन् । सन्तोषले बीमासम्बन्धी जानकारी नभएको र पढलेख पनि गर्न नजान्ने देखेपछि भिमकुमारीलाई विभिन्न कागजात र खाली चेकमा सहीछाप गर्न लगाए । भुक्तानीका लागि भन्दै ग्लोबल आईएमई बैंकमा एकल र संयुक्त खाता खोल्न लगाइयो । त्यसपछि सन्तोषले उनको १५ वर्षका भदा नाताका प्रतिक विश्वकर्मा र मृतककी जेठी श्रीमती मीरा विश्वकर्माको नाममा वार्षिक ५१ र ७० हजार किस्ता तिर्नुपर्नेगरी बीमा दर्ता गराएर आफूखुशी आर्थिक भार थपिदिए । पैसा माग्दा पाँच लाख ७० हजारभन्दा बढी दिन नसक्ने भन्दै उनले हप्काएर पठाएको भिमकुमारी बताउँछिन् ।

बीमा रकम नपाएपछि उनले आफूलाई झुक्यानमा पारेर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङमा उजुरी दिइन् । सिडियो यादवले तुरुन्तै घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । अनुसन्धानका क्रममा उनले विश्वासघात गरेर बीमा दर्ता गराएको फेला परेको हो । प्रहरीले सन्तोषविरुद्ध अपराधिक ठगी कसूरमा हिजो म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।

टिप्पणीहरू