एपीएफलाई मकवानपुर गोल्डकपको उपाधि

विभागीय टोली नेपाल एपीएफ क्लबले मकवानपुरमा भएको सातौँ स्थानीय तह सहिद स्मारक राष्ट्रिय महिला मकवानपुर गोल्डकप(२०८२ को उपाधि जितेको छ । अज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३(१ गोलले हराउँदै एपीएफले उपाधि हात पारेको छ ।
गौरीटार रंगशालामा भएको निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो टाईब्रेकरबाट लगाइएको हो । टाईब्रेकरमा नेपाल एपीएफको लागि गीता राना, अनिता बस्नेत र निशा थोकरले गोल गर्दा रश्मीकुमारी घिसिङ गोल गर्नबाट चुकिन् । यता पुलिसको लागि गोलकिपर उषा नाथ एकमात्र गोल गोल गर्दा रेविका पाण्डे, निरु थापा र सुष्मा तामाङ गोल गर्न असफल भए ।
जितसँगै एपीएफले नगद ७ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सिमित पुलिसले पाँच लाख रुपैयाँमा चित्त बुझायो । फाइनल खेलमा नायक बनेकी नेपाल एपीएफ क्लबकी गोलरक्षक अन्जना राना मगर ‘प्लेयर अफ दि म्याच चुनिइन् । विधागत अवार्डतर्फ एपीएफकै अन्जना उत्कृष्ट गोलरक्षक, पुलिसकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, एपीएफकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, पुलिसकी मिना देउबा उत्कृष्ट फरवार्ड र एपीएफका मुख्य प्रशिक्षक जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै नेपाल एपीएफ क्लबकी फरवार्ड रश्मीकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी चुनिँदै स्कुटर प्राप्त गारिन् । एपीएफको यस वर्षको यो तेस्रो उपाधि हो । यसअघि एपीएफले लुम्बिनी कप र बागमती मुख्यमन्त्री कपको उपाधि जितेको थियो ।
टिप्पणीहरू