मिसन विश्वकप :हङकङसँग खेल्दै नेपालले विश्वकप यात्रा शुरु गर्दै

मिसन विश्वकप :हङकङसँग खेल्दै नेपालले विश्वकप यात्रा शुरु गर्दै

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट आजबाट थाइल्याण्डमा शुरू हँदैछ । क्षेत्रीय छनोट अन्तर्गत एसिया छनोटमा नेपालसहित अन्य आठ राष्ट्रले आफ्नो दाबेदारी पेश गर्दैछन् । 

हालसम्म आईसीसी टी-२० विश्वकपमा स्थान बनाउन नसकेको नेपालले आज हुने पहिलो खेलमा हङकङसँग खेल्दै'मिसन विश्वकप' शुरु गर्दैछ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा हुने खेल बिहान ८:१५ बजे शुरु हुनेछ । पुरुषतर्फ दुई पटकटी-२० विश्वकप खेलेपनि महिला टोलीले भने विश्व क्रिकेटको सबैभन्दा ठूलो स्टेजमा आफू लाई उभाउन सकेको छैन । 

कस्तो छ छनोट प्रक्रिया?

थाइल्याण्डमा ९ मे देखि २० मेसम्म हुने छनोटमा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह'ए'मा भुटान, कुवेत र थाइल्याण्ड, समूह 'बी'मा मलेसिया, कतार र युएई तथा समूह 'सी'माबहराइन,हङकङ र नेपाल छन् । नेपालले आफ्नो पहिलो खेल आज हङकङ, १० मेमा बहराइन, १३ मेमा फेरि हङकङ र १५ मेमा बहराइनसँग खेल्नेछ । 
डबल राउण्ड रोबिन आधारमा हुने छनोटको सबै समूहको शीर्ष स्थानमा रहने टोली सुपर तीनमा पुग्नेछन् । सुपर तीनमा तीन टोलीले एक अर्कासँग एक/एक खेल खेल्नेछन् र शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् । 

ग्लोबल क्वालिफयारमा१० राष्ट्रले सहभागिता जनाउने छन् । १० मध्ये ८ टोली विभिन्न छनोट क्षेत्रबाट आउनेछन् भने बाँकी दुई टोली बंगलादेश र स्कटल्याण्डले सिधै ग्लोबल छनोटमा स्थान बनाएका हुन् । ग्लोबल छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले आगामी वर्ष इंग्ल्याण्डमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

एसिया छनोटमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ?

समूह 'सी'मा रहेको नेपालले लिग चरणमा बहराइन र हङकङसँग समान दुई/दुई खेल खेल्नेछ। नेपालको लागि दुबै नौला टोली भने हैनन् । नेपाल र हङकङ हालसम्मटी-२० मा ९पटक भिडेका छन् । जसमध्ये नेपालले पाँच खेल जित्दा हङकङले चार खेल जितेको छ । पछिल्लो पटक नेपालले गत मार्चमा युगान्डामा भएको महिला टी-२० चार देशीय सिरिजमा हङकङको सामना गरेको थियो । उक्त खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो ।

यस्तै नेपालले बहराइनविरुद्ध दुई खेलेको छ । सन् २०२२ र २०२३ मा भएको भेटमा नेपालले एकपक्षीय जीत निकालेको थियो । समूह चरण पार गर्न सकेको खण्डमा नेपालको लागि थाइल्याण्ड टाउको दुखाइ बन्न सक्छ । थाइल्याण्डविरुद्ध नेपालको इतिहास भने सन्तोषजनक छैन । दुई टोलीबीच भएको पछिल्लो छ भेटमा थाइल्याण्डले सबै खेल जितेको छ । फेब्रुअरीमा कीर्तिपुरमै भएको सिरिजमा पनि थाइल्याण्डले नेपाललाई सबै तीन खेलमा हराएको थियो ।

विश्वकप छनोटमा नेपालको प्रदर्शन 

नेपालले हालसम्म पाँच पटक विश्वकप छनोट खेलेको छ । पहिलो पटक सन् २०१६ मा छनोट खेलेको नेपालले ६ खेलमा ३ जीत र ३ हारको नतिजा निकाल्दै समूहको दोस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१७ मा नेपाल सेमिफाइनल पुगे पनि तेस्रो स्थानमा रहेर छनोटको अन्त्य गरेको थियो भने २०१९ मा लिग चरणको ६ मध्ये ५ खेलमा जीत निकाले पनि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो ।

यस्तै सन् २०२१ मा युएईमा भएको छनोटमा नेपालले समूह चरणको ५ खेलमा तीन जीत र दुई हारको नतिजा निकाल्दै युएई र हङकङको पछाडि रहेर छनोटको अन्त्य गरेको थियो । दुई वर्ष अगाडि मलेसियामा भएको छनोटमा पनि नेपाल सेमिफाइनलमा थाइल्याण्डसँग स्तब्ध बनेकोथियो । लिग चरणको ५ खेलमा नेपाल अपराजित रहेपनि सेमिफाइनलमा सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा विश्वकपको एक पाहिला नजिक पुगेर रित्तो हात फर्किएको थियो । त्यसैले नेपाल यसपटक कुनै गल्ती नगरी विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

टिप्पणीहरू