अपराधमा विदेशीको बढ्दो संलग्नताले थपिएको चुनौती

काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसबाट हालै पाँच बंगलादेशी पक्राउ परे । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
बंगलादेशको चट्टोग्राम मोबारक गोनाका मोहमद मोस्ताफिजुर रहमान, चाँदपुर तोरागर हाजिगंजका मोहमद फरहाद हुसेन चोधुरी, हाजीगाउँ बाराकोलका अबु युसुफ एमडी हानिफ, मागुरा मागुरासदर थाना बेरोइलग्रामका मिल्टन भन्ने काजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा अजिम मोलिकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको थियो ।
राजधानीको गौशाला र कालीमाटीमा बस्दै आएका उनीहरुले आफ्ना देशका नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा पक्राउ गरेको बताइन्छ ।
प्रहरीका अनुसार नेपाल हुँदै अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्विया, अल्बानियालगायत देश जान सहज हुन भनी एजेन्टमार्फत् पर्यटक भिसामा बंगलादेशी नागरिकलाई नेपाल बोलाएर प्रतिव्यक्ति ३५ सय अमेरिकी डलरका दरले १३ जनाबाट साढे ४५ हजार अमेरिकी डलर लिएर उनीहरु सम्पर्कविहीन भएका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि चैत २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित तीन जना विदेशी पक्राउ परे । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पाँच किलो दुई सय ग्राम गाँजासहित दुई थाई युवती र एक भारतीय नागरिकलाई पक्रेको हो ।
प्रहरीका अनुसार थाई एयरलाइन्सको उडानमार्फत काठमाडौं ओर्लिएकी २८ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवान विमानस्थलको आगमनतर्फ रेड च्यानल क्षेत्रको एक्सरे मेसिन नजिक पुग्दा शंकास्पद देखियो । त्यसपछि चेकजाँचको क्रममा उनको साथबाट गाँजा भेटिएको हो ।
अनुसन्धान गर्दा कनोक्वानसँग उक्त घटनामा थप दुई जना पनि गाँजा तस्करीमा संलग्न भएको पाइयो । २४ वर्षकी अर्की थाई युवती चोन्लाडा निन्चट्टुरट र ३१ वर्षीय भारतीय नागरिक जमशेद मलिक कुप्पाटिललाई प्रहरीले नियन्त्रणमा लियो ।
गाँजा तस्करीको मुख्य कारोबारी भने थाइल्याण्डमै रहेको र त्यहाँबाट थाई महिलामार्फत गाँजा नेपाल ‘ट्रान्जिट’ बनाएर भारतका विभिन्न शहर पुर्याउने गरेको अनुसन्धानकै क्रममा खुलेको छ ।
गत कात्तिक तेस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पाँच किलो बढी सुनसहित तीन विदेशीलाई प्रहरीले नियन्त्रणमा लियो । पक्राउ परेकामा एयर अरेबियाको उडानमा काठमाडौं आएका चिनियाँ नागरिक जियान झोङ, म्यानमारका सातनाइनटुङ र इन डोन फू हुन् । उनीहरुको लगेज रिचेक (पुनःजाँच) गर्ने क्रममा १२ थान स्पिकरमा लुकाएको अवस्थामा पाँच किलो सात सय ग्राम सुन बरामद भएको बताइन्छ ।
श्रीलंकन नागरिकलाई काठमाडौं ल्याएर बन्धक बनाई राखेको आरोपमा एक वर्षअघि चार जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पाकिस्तानको रावलपिण्डी बस्ने जुबैर अजमद, गुजरनवालाका शाहजहन तन्विर, मलिक अब्दुल हमिद र आरिफ मसिहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैदेशिक रोजगारीमा क्यानडा, रोमानिया, ग्रीस पठाइदिने प्रलोभनमा श्रीलंकनलाई काठमाडौं ल्याई बन्धक बनाएर कुटपिट गरेको र रकम लुटिएको आरोप उनीहरुमाथि लागेको थियो । त्यसअघि पनि अपहरण तथा शरीर बन्धक गरी फिरौती लिएको आरोपमा तीन जना पाकिस्तानी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।
त्यतिबेला मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन समातिएका थिए । भिजिट भिसामा क्यानडा पठाइदिने प्रलोभनमा पाकिस्तानीहरुलाई नेपाल ल्याएर उनीहरुले बूढानीलकण्ठस्थित एक घरमा बन्धक बनाई साढे २५ लाख रुपैयाँ फिरौती असुलेका थिए ।
अनलाइनमार्फत् ठगी गरेको आरोपमा ०८० चैतमा प्रहरीले पर्सामा तीन जना चिनियाँलाई पक्राउ गर्यो । हुनान प्रान्तका लिउ गुइ चाइ, हुवेइ प्रान्तका वाङ बोहाङ र सियाङ जियाओ समातिएका थिए ।
सोही वर्षको फागुनमा पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । फ्लाई दुबईको उडानबाट काठमाडौं आएका येमिन अहमद र मोहम्मद अदनान लखानी एयरपोर्टको आगमन टनेल गेटबाट साढे ९५ लाख नेपाली रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित प्रहरी नियन्त्रणमा पुगेका थिए ।
गत वर्षको भदौमा ललितपुरको एकान्तकुनास्थित कल सेन्टरबाट तीन चिनियाँसहित ५० जना समातिए । कल सेन्टरमा क्रिप्टो करेन्सीको अवैध कारोबार गर्दै आएका उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेपछि मुद्दा चलाइयो । अदालतको आदेशबमोजिम चिनियाँ नागरिक जेल चलान भएका छन् भने बाँकी धरौटीमा रिहा भएका हुन् ।
यी घटनाले मुलुकमा विभिन्न अपराधमा विदेशी नागरिकको संलग्नता बढ्दै गएको देखाउँछ । नेपाल पछिल्लो समय विदेशीहरुको अपराध अखडा बन्न थालेको भन्न थालिएको छ । नेपाली भूमिलाई केन्द्रबिन्दू बनाएर विदेशी नागरिकहरु अपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढेपछि राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको छ ।
विदेशी अपराधिक व्यक्ति तथा समूहहरु नेपालमा वित्तिय अपराधदेखि मानव तस्करी, ठगी, हत्या, लागूऔषध ओसारपसार, अपहरण तथा शरीर बन्धक, चोरी, सुन तस्करी, अवैध कारोबार, सामाजिक सामञ्जस्यता भत्काउनेसम्मका गतिविधिमा संलग्न भइरहेको पाइन्छ । आखिर विदेशीहरुले नेपाललाई सहजै आफ्ना अपराधिक गतिविधि सञ्चालन गर्ने थलो कसरी बनाइरहेका छन् ? प्रश्न उठेको छ ।
यहाँको खुकुलो भिसा नीति, कानून कार्यान्वयमा कमजोरी, खुला सीमाना, फितलो सुरक्षा व्यवस्था, प्राविधिक अक्षमता तथा सूचना प्रविधि क्षेत्रलाई सरकारको नजरअन्दाजजस्ता विभिन्न कारणले विदेशी अपराधिक गिरोहले नेपाललाई निशाना बनाएको जानकारहरु बताउँछन् ।
अपराधमा विदेशीको संलग्नता बढ्दो
नेपालमा अपराधिक क्रियाकलापमा विदेशी नागरिकको संख्या ह्वात्तै बढेको छ । जसलाई प्रहरीको तथ्याङ्कले समेत पुष्टि गर्दछ । प्रहरी प्रधान कार्यालयको पछिल्लो पाँच वर्षको तथ्याङ्ककले नेपाली भूमिमा बसेर अपराधमा संलग्न हुने विदेशीको संख्या बढिरहेको देखाउँछ ।
जसअनुसार आर्थिक वर्ष २०७६–०७७ देखि चालु आवको चैत मसान्तसम्म विभिन्न कसुरमा संलग्न रहेको आरोपमा झण्डै नौ सय विदेशी पक्राउ परेका छन् । चालु आवको चैत मसान्तसम्म मात्रै दुई सय ६६ जना विदेशीलाई प्रहरीले समातेको छ । जुन अन्य आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै हो ।
त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा दुई सय ४७, ०७९–८० मा एक सय ८३, ०७८–०७९ मा एक सय आठ, ०७७–०७८ मा ३० र ०७६–०७७ मा ४३ जना विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरी तथ्याङ्कमा छ ।
सबैभन्दा धेरै भारतीय
नेपालमा अपराधिक गतिविधिमा संलग्न हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय देखिन्छन् । त्यसपछि चीन र बंगलादेशी नागरिक पर्छन् । चालु आवको पछिल्लो नौ महिनामा विभिन्न कसूरमा समातिएका दुई सय ६६ जना विदेशी नागरिकमध्ये दुई सय चार जना भारतीय हुन् ।
यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा दुई सय ४७ जना पक्राउ परेकोमा एक सय ५६ भारतीय, ०७९–८० मा एक सय ८३ जनामध्ये ५१, ०७८–०७९ मा एक सय आठ जनामध्ये ३१, ०७७–०७८ मा ३० जनामध्ये दुई र ०७६–०७७ मा ४३ जनामध्ये पाँच जना भारतीय थिए ।
प्रहरी भन्छ : ठग्ने विदेशी बढे
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा अपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढेको बताउँछन् । उनका अनुसार विशेषगरी साइबर ठगीमा विदेशीहरुको संलग्नता बढ्दो छ । लागूऔषध, सुन तस्करी, चोरी, अवैध मुद्रालगायत विभिन्न कसुरमा विदेशीहरु पक्राउ पर्ने गरेको उनको भनाइ छ ।
प्रवक्ता थापाले भने, ‘भिजिट भिसामा आउने अनि अपराधमा संलग्न हुने गरेको पाइएको छ । कतिपय अपराधिक सोचले नै आएका हुन्छन् भने कतिपय नेपाल आएपछि विस्तारै अपराधमा संलग्न हुने गरेको देखियो ।’
प्रविधिको नियमन जरुरी : पूर्वडिआइजी
नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरिक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरी विश्व सूचना प्रविधिको तीव्र विकासतर्फ रफ्तारले बढिरहँदा हाम्रोमा भने सोही क्षेत्र पछाडि पर्दा मुलुकमा विदेशी नागरिकहरु अपराधमा संलग्न हुने क्रम बढिरहेको बताउँछन् ।
नेपाली भूमिमा बसेर अपराधिक गतिविधि गर्ने विदेशी नागरिकको संख्या बढ्नुको कारण खुल्ला सीमाना मात्र नभएको उनको भनाइ छ । सूचना प्रविधि क्षेत्रमा नियमन बढाउन आवश्यक रहेकोतर्फ औंल्याए । पछिल्लो समय विद्युतीय अपराधमा विदेशीको संलग्नता बढिरहेकाले त्यसबारे नियमन गर्न जरुरी रहेको उनको भनाइ छ । प्रविधिको विकाससँगै अपराधको तरिकामा पनि फरकपन आएको ठकुरी बताउँछन् ।
‘यो युग ग्लोबललाइनजेसन अर्थात् सूचना प्रविधिको हो । विश्वभर सूचना प्रविधिको रफ्तारले विकास भइरहेको छ । एक देशका नागरिक अर्को देशका नागरिकसँग सजिलै सम्पर्क गरिरहेका छन्,’ ठकुरीले भने, ‘जसले अपराधिक मानसिकता भएकाहरुलाई सहज भएको छ । उनीहरुले जहाँ बसेर पनि अपराध गर्न सक्छन् । त्यसैले, अब खुल्ला सीमाना मात्र समस्या रहेन, सूचना प्रविधिको कहाँ र कसरी प्रयोग भइरहेको छ ? भन्नेबारे सरोकारवाला निकायले नियमन गर्नुपर्छ ।’
प्रविधिसँग जोडिएका अनलाइन ठगी, बैंकिङ्ग कसूरजस्ता अपराधमा विदेशी नागरिकको संलग्नता बढिरहेको बताउँदै उनले थपे, ‘हाम्रोमा सूचना प्रविधि क्षेत्रमा सरकारको लगानी निकै कम छ । यसले प्रहरीलाई अपराधीसम्म पुग्न समय त लाग्छ नै सँगै अनेकौं चुनौती पार गर्नुपर्छ । अर्कोतर्फ, कारबाहीमा नपरेपछि अपराधीको मनोबलसमेत बढ्छ ।’ ठकुरीले नेपालमा विदेशीहरुको अपराधिक गतिविधि झनै मौलाउने देखिएकाले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन र नियमनमा जोड दिए ।
टिप्पणीहरू