साँझ क्याविनेट बस्दै, समितिको बैठक बोलाइयो
प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक बोलाउनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको डेढ घण्टा लामो भेटवार्तालगत्तै उहाँले साँझ ५ बजे बालुवाटारमा बस्नेगरी क्याविनेट बोलाउनुभएको हो ।
प्रमको स्वास्थ्यलाई कारण देखाउँदै नियमित रुपमा बस्नुपर्ने क्याविनेटको बैठक हिजो अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना छ ।
क्याविनेट बैठकअघि सिफारिस समितिको बैठक बस्न लागेको छ । समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेले अपराह्न चार बजे बैठक डाक्नुभएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेको उक्त समितिले विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने दाबी गरिएको छ । सत्ता साझेदार दुई दलबीचको हानथापले गभर्नर नियुक्तिमा बिलम्ब हुँदै आएको छ । जसका कारण सत्ता समीकरण नै अप्ठेरोमा पर्न लागेको चर्चाका बीच हिजो देउवाले प्रम ओलीलाई भेट्न अस्वीकार गरेका थिए ।
टिप्पणीहरू