प्याच्च बोलेपछि पूर्व प्रधानमन्त्रीलाई आपत्
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई एउटा सार्वजनिक कार्यक्रमबाट लखेटिनुपरेको छ । सशस्त्र विद्रोहमा भएको मानवीय क्षतिबारे दिएको अभिव्यक्तिप्रति द्वन्द्वपीडितहरुले आपत्ति जनाएपछि उहाँलाई कार्यक्रम छाडेर हिँड्नुपर्ने अवस्था आएको हो ।
नेपाल मानवअधिकार संगठनले काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक छलफलमा डा. भट्टराईले सशस्त्र विद्रोहमा भएको क्षतिको तत्कालीन राज्य र विद्रोही पक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउनुपर्ने धारणा राख्नुभएको थियो ।
त्यसबेला राज्यको सेना र विद्रोही सेना दुईथरी रहेको र द्वन्द्वका क्रममा १७ हजार मानिसको ज्यान गएको भन्दै दुबै पक्षले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैक्रममा भट्टराईले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौँ मानिस मारिए पनि नेपालमा १७ हजारको मात्रै मृत्यु भएको बताएपछि द्वन्द्वपीडितले आपत्ति जनाएका हुन् ।
पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध र होहल्ला हुन थालेपछि भट्टराई कार्यक्रमको बिचैमा बाहिरिनुभएको थियो ।
टिप्पणीहरू