राजेन्द्र लिङ्देन ‘उत्ताउलो’ भएको प्रधानमन्त्रीको निश्कर्ष
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपाली जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएको ठोकुवा गर्नुभएको छ । उहाँले त्यस्तो गलत सपना नदेख्न अप्रत्यक्ष रुपमा राजावादीहरुलाई सल्लाह पनि दिनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा उहाँले नै पहिलेको कार्यकालमा उपकुलपति नियुक्त गर्नुभएका जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेर्दै चाँडै राजतन्त्र फर्कने बताएपछि प्रधानमन्त्रीले जवाफ दिनुभएको हो । उहाँले भन्नुभयो, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।’
१४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने र निर्वाचन हुने भन्दै आश्वस्त पार्नुभएको छ ।
पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा आयोजित १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने कुरालाई ‘उत्ताउलो’ को संज्ञा दिनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनप्रति संकेत गर्दै भन्नुभयो, ‘कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्न अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ ।’
युवा संघलाई निर्देशन दिँदै उहाँले एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपर्न र आफ्ना कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो । मन्तव्यको अन्तिममा सरकार ढल्यो भनेर कराइरहनेहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने र निर्वाचन हुने भन्दै आश्वस्त पार्नुभएको छ ।
टिप्पणीहरू