वडा सदस्य त्यागेर कमरेड वनतिर

वडा सदस्य त्यागेर कमरेड वनतिर

२०७९ को स्थानीय निर्वाचनमा एमालेलाई जताततै धक्का लाग्यो । एकातर्फ कांग्रेस–माओवादी गठबन्धने अर्कातर्फ सोही पार्टीबाट छुट्टिएर बनेको एकीकृत समाजवादी यस्तै हार ब्यहोर्नुपरेको मध्ये एउटा हो – मकवानपुरको मनहरी गाउँपालिका । ०७४ सालको निर्वाचनमा १७ मध्ये १४ जना कार्यपालिका सदस्य बनाउन सफल भएको यो पालिकामा २०७९ मा जम्मा ४ जना वडा सदस्यले जित हासिल गरे । त्यो पनि वडा नं ९ मा वडाध्यक्षबाहेक दलित महिला सदस्य, महिला सदस्य र दुई खुला सदस्य । 

पालिकाभरि रहेका ४ जना जनप्रतिनिधि (वडा सदस्य) पनि घटेर अब ३ जनामा आएको छ । कारण हो–वडा सदस्यबाट राजीनामा दिएर स्थानीय सामुदायिक वनको निर्वाचनमा सहभागी हुनु । मनहरी गाउँपालिकास्थित कालिका हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा भिड्न पर्वदेव अधिकारीले राजीनामा दिएसँगै जनप्रतिनिधिको संख्या घटेर पालिकाभरिमै ३ मा खुम्चिएको हो । यद्यपि, अधिकारी २०७४ मा पनि वडा सदस्यमै निर्वाचित भएका थिए । 

जेठ १० गते हुन गइरहेको सामुदायिक वनको निर्वाचनमा सहभागी हुन अधिकारीले सदस्यबाट राजीनामा दिएका हुन् । उनी यसअघि लामो समय सोही वन समूहको अध्यक्ष थिए । कतिपयले जनप्रतिनिधि भइसकेको मान्छे किन वन समूहमा लोभी ? पनि भनेका छन् त कतिपयले चाहिँ कार्यकारी भूमिका रहने मान्छेलाई कार्यकारी भूमिका नै दिनुपर्छ भन्ने तर्क पेश गरेका छन् । 

जे होस्, हाल ९ नं वडाध्यक्ष रहेका राजकुमार श्रेष्ठ (नेपाली कांग्रेस) पनि चुनावअघि वन समूहकै अध्यक्ष बनेका थिए । वडाध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्ष इमान थिङलाई कार्यबहाक सुम्पेर जनताको काममा लागे । अहिले उनै थिङ र अधिकारीबीच प्यानल भिडन्त हुने देखिएको छ । कूल ८६३ मतदाता रहेको सामुदायिक वनको चुनाव पूरै राजनीतिक भिडन्त हुने देखिएको छ ।

 

टिप्पणीहरू