खानेपानीको चुनावमा पार्टीको प्रचारप्रसार

मोरङको विराटनगरस्थित विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि भोलि चुनाव हुँदैछ । विराटनगर महानगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने पाँच वटा र छिमेकी गाउँपालिका बुढीगंगाको एउटा वडामा उपभोक्ता रहेको संस्थाको कार्यसमिति निर्वाचनका लागि तीनवटा अलग–अलग प्यानलका उम्मेदवारहरु आवधिक चुनावजस्तै प्रतिस्पर्धामा छन् ।
रोचक प्रसंग के भने, चुनाव खानेपानीको संस्थाको भएपनि प्रचारप्रसार भने पार्टीको प्रतिष्ठाका लागिझैं व्यापक रुपमा भइरहेको छ । महानगरको वडा नम्बर १, ३, ४, ५ र १९ र गाउँपालिकाको वडा नम्बर १ समेत छ हजार उपभोक्ता रहेको संस्थाको निर्वाचनमा प्रगतिशील, लोकतान्त्रिक र स्वतन्त्र उम्मेदवारका भिन्दाभिन्दै प्यानलले प्रतिस्पर्धा गरेका छन् । सबै प्यानलका उम्मेदवारहरु आ–आफ्नो घोषणापत्र र चुनाव चिन्ह लिएर तामझामसहित घरदैलो गर्दै उपभोक्तासँग भोट माग्न सक्रिय देखिए ।
संस्थाको कार्यसमितिमा पदाधिकारीसहित जम्मा नौ जना रहने व्यवस्था छ । अध्यक्ष पदका उम्मेदवार लालमणि भट्टराई, राम घिमिरेको छुट्टाछुट्टै प्रगतिशील प्यानल बनाइएको छ । दुर्गा चापागाईँ लोकतान्त्रिक प्यानलबाट चुनावमा होमिएकी हुन् ।
चापागाईँको प्यानल काँग्रेसनिकट हो भने घिमिरे र भट्टराईको प्यानल एमालेनिकट । भट्टराई एमाले इतर र घिमिरे संस्थापन पक्षका हुन् । दुवै अघिल्लो वर्ष भएको निर्वाचनमा पनि उम्मेदवारमा थिए । उम्मेदवारहरुले शुद्ध खानेपानी सुलभ रुपमा नियमित उपलब्ध गराउने, संस्थाको कार्यक्षेत्र बढाउने, पानी नआएमा जार वितरण गर्नेदेखि बढ्दो शहरीकरणलाई ख्याल गर्दै आगलागी नियन्त्रण गर्न फायर हाइड्रेन्ट निर्माण गराउने, संस्थालाई मितव्ययी बनाएर सञ्चालन गर्नेलगायतका दुई दर्जन बढी प्रतिबद्धता चुनावी घोषणापत्रमा समावेश गरेका छन् ।
स्वतन्त्र उपभोक्ताहरुको कार्यसमितिका लागि निर्वाचन गर्न लागिएको भएपनि पार्टीहरुले सक्रिय रुपमा प्रचारप्रसार गरिरहेको स्थानीय राम सुवेदी बताउँछन् । भन्छन्,‘संस्थाका लागि स्वतन्त्र उपभोक्ताहरुको कार्यसमितिका लागि निर्वाचन हुँदैछ । तर, यो पार्टीको निर्वाचनजस्तै महसुश भएको छ । पार्टी नै प्रचारप्रसारमा लागेको छ । मत माग्न पार्टीका स्थानीय नेता–कार्यकर्ता सक्रिय रुपमा लागिपरेका छन् ।’
अघिल्लो वर्षको चुनावमा चरम राजनीति भएपछि अन्तिममा स्थगित गर्नुपरेको थियो । समयमा निर्वाचन गराउन माग गर्दै उच्च अदालत, विराटनगरमा रिट दर्तासमेत गरिएको हो । उच्चले उक्त रिटमा गत फागुन २७ गते निर्वाचनका उम्मेदवार र मतदाता यथावत राखेर तीन महिनाभित्र मतदान गर्न आदेश दिएको थियो । अदालतको आदेशबमोजिम जिल्ला प्रशासन कार्यालयको समन्वय र निगरानीमा जेठ १० गते निर्वाचन गर्न लागिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इनरदेव यादवको रोहबरमा भएको छलफलमा वर्णानुक्रम वा क्रमसंख्याका आधारमा मतदाताको नाम सार्वजनिक गरेर मतपेटिका राख्ने, फराकिलो र उपभोक्तालाई पायक पर्ने ठाउँमा मतदानस्थल राखिने, पूर्ण प्रहरी सुरक्षामा मतदानको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि छुट्टै मतपेटिका राख्ने, उपभोक्ताको फोटोसहितको परिचयपत्र निर्वाचन हुनुभन्दा सात दिनअगाडि वितरण गरिनेलगायतको सहमति भएको छ । सोहीअनुसार खानेपानी उपभोक्ता समितिका निर्वाचन अधिकृतहरु काममा खटिएका छन् ।
एमाले नगर अध्यक्षमाथि कारबाही
गत वर्ष भएको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै एमालेका तत्कालीन महानगरपालिकाका नगरअध्यक्ष सागर थापालाई कारबाही गरिएको थियो । पार्टीका आधिकारिक उम्मेदवार राम घिमिरे हुँदाहुँदै लालमणि भट्टराईलाई उम्मेदवार बनाएको आरोपमा थापासहित उपसचिव नवराज नेपाल, वडा पार्टी अध्यक्ष भट्टराई कारबाहीमा परेका थिए । तर, एमालेको दशौं जिल्ला अधिवेशनमा इतर पक्ष विनोद ढकाल समूहको प्यानल नै विजयी भएपछि सबैको कारबाही फुकुवा भइसकेको छ । त्योसँगै थापा एमाले जिल्ला कमिटीको उपाध्यक्षमा विजयी भएका छन् ।
टिप्पणीहरू