प्रधानमन्त्री आत्तिएको आशंका
राजावादीहरु र राप्रपाले पर्सि गणतन्त्र दिवसका दिनदेखि गणतन्त्र र संघीयतामाथि धावा बोल्ने भन्दै आन्दोलन घोषणा गरेपछि सुरक्षा निकायहरुले सतर्कता अपनाउन थालेका छन् । हिजो दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित मुख्य सचिव एकनारायण अर्यालको कार्यकक्षमा बसेको बैठकमा सुरक्षा तयारीबारे विचार विमर्श गरिएको छ । गृह सचिव,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सेनाको प्रतिनिधि उपस्थित बैठकमा राजावादीहरुको आन्दोलनबारे समग्र छलफल गरिएको थियो ।
अनुसन्धान विभागले राजावादीहरुको आन्दोलन घनिभूत हुने रिपोर्टिङ गरेको बताइन्छ । सेना,प्रहरी र सशस्त्र प्रहरी बलले पनि त्यस्तै लाइनको धारणा राखेका थिए । चैत १५ गतेको तीनकुने घटनापछि सजग बन्दै आएका सुरक्षा निकायहरु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुको प्रतिकार गर्न आह्वान गरेपछि अप्ठेरोमा परेको बताइन्छ ।
एमालेले प्रतिकार गर्ने भनेपछि भिडन्तको सम्भावना बढेको छ । ‘राजावादीहरुलाई रोक्न गाह्रो होइन । एमालेले प्रतिकार गर्ने भनेपछि भिडन्त हुनबाट परिस्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था उत्पन्न भएको छ,’ गृह स्रोतले बतायो ।
प्रधानमन्त्रीको आह्वानले २०४६ सालको आन्दोलनमा पञ्चायती सरकारको निर्देशनमा मण्डलेले प्रतिकार गरेको अवस्था देखिने सम्भावना बढेको सरकारी अधिकारीहरुको भनाइ छ । गृह मन्त्रालयको उच्च स्रोत भन्छ, ‘प्रधानमन्त्री डराउनुभएको हो कि भन्ने एकथरीको बुझाइ छ । आफूहरु सक्षम रहेको सबै सुरक्षा निकायको भनाइ छ ।’
टिप्पणीहरू