प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आयोग चिन्तित

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आयोग चिन्तित

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले पदीय मर्यादाविपरित अभिव्यक्ति दिएकोमा आयोगले उक्त प्रतिक्रिया जनाएको हो । 

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र लिनु भनेको विधिको शासनविपरित हुनुको साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई छ । शान्तिूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध नगरेको पनि प्रधानमन्त्रीलाई स्मरण गराइएको छ । ‘यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ’, पत्रमा अघि भनिएको छ, ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ ।’

आयोगले आगामी दिनमा कुनै व्यक्ति, समूह वा पार्टीलक्षित नकारात्मक टिकाटिप्पणी नगर्न र पदीय मर्यादाको ख्याल गर्न प्रधानमन्त्रीसहित सबै जिम्मेवार व्यक्तिहरुलाई सचेत पनि गराएको छ ।

टिप्पणीहरू