ऋण तिर्दै घरको तला थपेपछि पालिका प्रमुखमाथि आशंका

ऋण तिर्दै घरको तला थपेपछि पालिका प्रमुखमाथि आशंका

शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप नसेलाउँदै सिरहाको एक गाउँपालिका प्रमुखमाथि अर्को आरोप थपिएको छ । नवराजपुर गाउँपालिका प्रमुख शिवउदगार यादव उर्फ शिवामाथि डेढ करोड ऋण लिएको र घरको तल्ला थपेको भन्दै स्थानीयले टिप्पणी गरेका हुन् ।

स्थानीय तहको चुनावमा करोडबढी ऋण लागेको बताउँदै आएका उनले एकाएक ऋण तिरेको र घरमा तला थपेकोमा मतदाताहरुले नै आश्चर्य व्यक्त गरेका हुन् । करिब ३ कठ्ठा क्षेत्रफलको कम्पाउण्डभित्र बनेको पक्की घरमा २५ देखि ३० लाख रुपैयाँमा तला थपेको र लाखौं खर्चेर पक्की कम्पाउण्ड वाल लगाएको खर्चको स्रोतमाथि प्रश्न उठाइएको हो ।

श्रीमतीको नाममा दर्ता रहेको शिवशंकर ट्रेडर्सले बैंक अफ काठमाडौंबाट लिएको डेढ करोड ऋण तिरिएको उनको सचिवालयका एक सदस्यले जानकारी दिए । उक्त ट्रेडर्सले घरमै गोदाम खोलेर गाउँलेसँग उधारोमा धान खरिद गर्दै ठूला राइस मिलहरुलाई बेच्ने गर्छ । उनी माओवादी हुँदै उपेन्द्र यादवको तत्कालीन मधेशी जनअधिकारी फोरमबाट राजनीतिमा संसदीय राजनीतिमा आएका हुन् ।

हाल अख्तियारको मुद्दा झेलिरहेका मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय यादव पनि फोरममार्फत् राजनीतिमा आएका थिए । नाताले उनीहरु आफ्नै मामा भाञ्जा हुन् । जनता समाजवादी पार्टीको केन्द्रीय कोषाध्यक्ष समेत रहेका विजयकै दबाबमा गाउँपालिका प्रमुखको टिकट पाएको भन्ने गरिएको छ ।

अघिल्लो चुनावमा नेपाली काँग्रेसका विश्वमोहन यादवसँग झिनो मतले पराजित शिवाले पछिल्लो चुनावमा उनै विश्वमोहनलाई हराएका हुन् । विश्वमोहन काँग्रेस नेतृ तथा हाल अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवका सहोदर भाई हुन् ।

उनीमाथि परिवारका सदस्यको जन्मोत्सवमा महँगा मोबाइल, घडी, मोटरसाइकल उपहार दिएको आरोप पनि लागेको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा शिवा सम्पर्कमा आउन चाहेनन् ।

टिप्पणीहरू