गभर्नरविरुद्धको मुद्दा न्यायाधीश मुसलमानको बेञ्चमा
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध परेको रिटउपर आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेशी तोकिएको हो ।
अधिवक्ता विशाल थापासमेतले नियुक्ति बदरको माग गर्दै हिजो रिट दर्ता गराएका थिए । पाँच दिनअघि नै सर्वाेच्चमा पेश भएको रिट निवेदन विपक्षी बनाइएका शेरबहादुर देउवा र केपी शर्मा ओलीको नाम हटाएपछि मात्र दर्ता भएको हो ।
गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित गभर्नर डा. पौडेलको नियुक्ति बदर माग गरिएको छ । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर रिटकर्ताको छ ।
गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, वाणिज्य र बैंकिङ क्षेत्रको उपाधि नभई ग्रामीण विकास अर्थशास्त्रको योग्यता रहेकाले ऐनले अनिवार्य गरेको उपाधि नभएको, सिफारिस समितिको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्ति गरिएको आधार समेत देखाई नियुक्ति बदरको माग गरिएको छ ।
यसअघि पौडेल गभर्नर नियुक्त नहुँदै नियुक्ति रोक्न अधिवक्ताहरू सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरिदिएकोमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले अघिल्लो मंगलबार त्यसलाई सदर गरेको थियो ।
टिप्पणीहरू