शिक्षाकाे लागि सवा दुई खर्ब, खेलकुदमा दोब्बर वृद्धि

शिक्षाकाे लागि सवा दुई खर्ब, खेलकुदमा दोब्बर वृद्धि

विद्यालय शिक्षाको नतिजा र गुणस्तर सुधारको लागि सरकारले प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०८२/०८३ को बजेट प्रस्तुत गर्दै देशभरका विद्यालय छनोट गरेर सय विद्यालयमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । उहाँका अनुसार प्रत्येक विद्यालयलाई २५ लाख उपलब्ध गराइनेछ । 

ती विद्यालयहरुले अन्य विद्यालयको नतिजा र गुणस्तर सुधारमा सहयोग गर्ने सरकारको विश्वास छ । त्यस्तै, कक्षा पाँचसम्मका विद्यार्थीको लागि सरकारले दिवा खाजा खर्चको बजेटमा वृद्धि गरेको छ ।  

अर्थमन्त्री पौडेलले २८ लाख बालबालिकाको दिवा खाजा खर्चको लागि दश अर्ब २८ करोड विनियोजन गरिएको बताउनुभयो । त्यस्तै, छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरणको लागि एक अर्ब १३ लाख विनियोजन गरिएको उहाँले जनाउनुभयो । यसबाट १३ लाख छात्राहरु लाभान्वित हुने बताइएको छ । 

समग्रमा शिक्षाकाे लागि दुई खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पाैडेलले जानकारी दिनुभयाे । 

यता, युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो । 

चालू आर्थिक वर्षमा तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

टिप्पणीहरू