संसद खुलाउन सभामुखलाई चटारो, सिंहदरबारमा कार्यव्यवस्था बैठक

संसद खुलाउन सभामुखलाई चटारो, सिंहदरबारमा कार्यव्यवस्था बैठक

सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेकाे कानुन न्याय तथा मानव अधिकार समितिको सभाहलमा अहिले बैठक जारी छ । दिउँसो पौने १ बजेदेखि शुरु भएको बैठकमा उपसभामुख ईन्दिरा राना, नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेश बर्ताैला,  माओवादी केन्द्रका प्रमुख हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् । 

त्यस्तै, एमालेका सचेतक सुनिता बराल, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, काँग्रेस सांसद जीवन परियार, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव हर्कराज राई, कार्यव्यवस्था परामर्श समितिका सहसचिव एकराम गिरीलगायत पनि बैठकमा बसेका छन् । 

संसदको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले कार्य व्यवस्था बसेको जनाइएको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् । हिजो बजेट प्रस्तुत गर्न दिएका उनीहरुले आजबाट अवरोधलाई निरन्तरता दिने बताइसकेका छन् ।

संसद्को अवरोध खोल्न लगातार छलफल चलाइरहेका सभामुख घिमिरेले बिहान संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।
 

टिप्पणीहरू