चार दिनभित्र सहमति जुट्ने एमालेको विश्वास, माओवादीले बोलायो दलको बैठक
सरकारको नेतृत्वकर्ता नेकपा एमालेले चार दिनभित्र प्रतिपक्षी दलहरु सहमतिमा आउने विश्वास व्यक्त गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरुद्ध पारिरहेका प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका विपक्षीहरु छिट्टै संसद्को नियमित कारवाहीमा सहभागी हुने एमालेले विश्वास लिएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाले जेठ २० सम्ममा विपक्षीहरु सहमतिमा आउने जिकिर गरे । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले गरेको संसद अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज बिहान सबै दलका सचेतकहरुसँग छलफल गरेका थिए । छलफलकाे निस्कर्षबारे जानकारी दिँदै बर्तौलाले विपक्षी दल संसदीय प्रक्रियालाई सहज बनाउन लचक हुने अपेक्षा राखेको बताए ।
संसद सचिवालयले असार १५ गतेसम्मको कार्यसूची सार्वजनिक गरेको जनाउँदै उनले भने, ‘अब चार दिनपछि संसद बस्दैछ, हामीले सानो विषयलाई ठूलो मसला बनाउदै जाने हो भने यसले संसदीय प्रणालीलाई चुनौती दिन्छ, मिलेर सदन अघि बढाऔँ भनेर विपक्षीहरुलाई आग्रह गरेका छौ ।’
बैठकमा सहभागी विपक्षी दलका नेताहरुले आ-आफ्नो पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र अडानमा सोचविचार गर्न सकिने जवाफ दिएको बर्तौलाले जानकारी दिए । ‘विपक्षी दलका साथीहरु पनि सकारात्मक हुनुहन्छ, नेतृत्वसँग परामर्श गरेर सदन अघि बढाउने र अवरोध जारी राख्ने भन्ने जानकारी गराउँछौ भन्नुभएको छ, मलाई विश्वास छ, यो चार दिनमा उहाँहरुले राम्रो परामर्श गरेर सहमतिमा आउनुहुनेछ’, उनले थपे ।
उता प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भने गृहमन्त्रीले राजीनामा नदिँदासम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको छ । आज बिहान खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीलाई जसरी पनि राजीनामा दिने गरी संसदमा वातावरण सिर्जना गर्न नेताहरुलाई निर्देशन दिएको बताइएको छ । त्यसबारे थप निर्णय लिन माओवादीले विज्ञसहित संसदीय दलको बैठक जेठ १९ गतेका लागि बोलाएको छ ।
टिप्पणीहरू