पोर्चुगलका नेपालीलाई अब सहजै पासपोर्ट

पोर्चुगलका नेपालीलाई अब सहजै पासपोर्ट

पोर्चुगलमा रहेका नेपालीले अब त्यहीबाट विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवा पाउने भएका छन् । लिस्बनस्थित नेपाली राजदूतावासले आउँदो सोमबारदेखि आफ्नै भवनबाट उक्त सेवा शुरु गर्न लागेको हो । 

दूतावासका अनुसार हालका लागि जेठ ३० गते अर्थात् जुन १३ तारिखसम्म मात्र सेवा प्रदान गरिनेछ । सो अवधिमा राहदानी हराएका, बहाल मिति सकिएका तथा पोर्चुगिज सरकारको सम्बन्धित निकायबाट फाल्ला पेश गर्न इमेल पाएका नेपालीलाई राहदानीको आवेदन दिन दूतावासले आग्रह गरेको छ ।

‘यस राजदूतावासले आगामी सोमबार, ०२ जुन २०२५ देखि यस राजदूतावासको कार्यालय रहेको भवनबाट विद्युतीय राहदानी सेवा शुरु गर्न गइरहेको हुँदा राहदानी हराएका, बहाल मिति सकिएका तथा पोर्चुगिज सरकारको सम्बन्धित निकायबाट फाल्ला पेश गर्न इमेल पठाएका आवेदकहरुले आफुलाई माथि उल्लिखित अवस्था भएको प्रमाण देखिने कागजातसहित राहदानीको आवेदन गर्न सक्ने व्यहोरा अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ । 

दूतावासले पछिसमेत आवेदन खुलाइने भएकाले अहिले राहदानी अत्यावश्यक भएकालाई मात्र आवेदन दिन पनि अनुरोध गरेको छ । 

पोर्चुगलमा रहेका नेपालीले यसअघि फ्रान्सस्थित दूतावासबाट राहदानी सम्बन्धि सेवा पाउँदै आएका थिए ।

टिप्पणीहरू