भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको एक्कासी सरुवा

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको एक्कासी सरुवा

गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भिजिट भिसा प्रकरणको अनुसन्धान टोलीमा संलग्न एक उच्च प्रहरी अधिकृतको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञ र अनुभवी अधिकृतको छुट्टै टोली बनाएर अनुसन्धान अघि बढाइरहेका बेला डिआइजी हिमालयकुमार श्रेष्ठलाई गृह मन्त्रालयले सरुवा गरेको छ । 

उनलाई अख्तियारबाट झिकेर उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ । उनी नेपाल प्रहरीमा काबिल अनुसन्धान अधिकृतका रुपमा चिनिन्छन् । अख्तियारले उनलाई अनुसन्धान टोलीमा समावेश गरेपछि मन्त्रालयले आज ११ जना डिआइजीको पदस्थापना गर्दा श्रेष्ठ त्यहाँबाट एकाएक धपाइएका छन् । उनको ठाउँमा अर्का डिआइजी ओमबहादुर रानालाई पठाइएको छ । 

गृहमन्त्री लेखक र उनको सचिवालय मुछिएको यो प्रकरणमा अख्तियारले गम्भीर अनुसन्धान गरिरहेको बेला श्रेष्ठलाई किन अन्यत्र पठाइयो ? भन्ने जनआस्थाको प्रश्नमा गृह स्रोतले ‘आश्चर्य’ जनाएको छ ।

‘उहाँको कार्य सम्पादन रेकर्ड राम्रो छ, भिजिट भिसा प्रकरणमा पनि अनुसन्धान टोलीमा रहेको राम्रो गरिरहनुभएको बुझिएको थियो’, स्रोतले भन्यो, ‘उहाँले अनुसन्धान गर्दै जाँदा हाइ प्रोफाइल संलग्न भएको संकेत गर्नुभयो, त्यही हल्ला चलेपछि सरुवा भएको हुनसक्छ ।’ 

डिआइजी श्रेष्ठले भने सरुवा भएकोमा कुनै आपत्ति नरहेको प्रतिक्रिया दिएका छन् । ‘तपार्इंले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहनुभएको थियो, तर एक्कासी सरुवा गरियो, किन होला ?’ भन्ने प्रश्नमा उनले सरुवाले अनुसन्धानलाई प्रभावित नपार्ने बताए ।

उनले भने, ‘सरुवाको समय त भएको थिएन, तर सरुवा भएँ । यसो भन्दैमा फेरि अनुसन्धान प्रभावित हुन्छ भन्ने होइन, त्यहाँ जानुभएको नयाँ डिआइजी (राना)ले अब अनुसन्धानमा सहयोग गर्नुहुनेछ ।’

यस्तो गम्भीर विषयमा अनुसन्धन गरिरहेका अनुसन्धान अधिकारीलाई बीचैमा सरुवा गर्नुलाई स्वाभाविक मानिँदैन । तर, विगतदेखि नै यस्तो हुँदै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उच्च राजनीतिक नेतृत्वको नाम आउन थालेपछि अनुसन्धान अधिकारीहरु सरुवामा परेका थिए ।

टिप्पणीहरू