ज्यान मुद्दामा सफाइ पाएका काँग्रेस नेतालाई मस्तिष्कघात

ज्यान मुद्दामा सफाइ पाएका काँग्रेस नेतालाई मस्तिष्कघात फाइल फाेटाे

ज्यान मुद्दामा अदालतले सफाइ दिएपछि अस्ति जेलबाट छुटेका नेपाली काँग्रेसका नेता अफताब आलमलाई मस्तिष्कघात भएको छ । 

दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर मारेको अभियोगमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनी उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासको आदेशले बुधबार रिहा भएका थिए । नख्खु कारागारबाट छुटेर घर गएका उनलाई आज मष्तिस्कघात भएको हो ।  

पहिलो संविधान सभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा आठ जना घाइते भएका थिए । चुनावमा उम्मेदवार रहेका उनले अपराधबाट बच्न घाइते सबैलाई नजिकैको इँट्टाभट्टामा लगेर जलाएको आरोप छ ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले उनलाई २०७६ असोजमा पक्राउ गरेको थियो । गत वर्ष वैशाख १३ गते जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो । 

त्यसपछि उनले थुनाभित्रैबाट उच्च अदालतमा निवेदन दिएकोमा बुधबार उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो ।

टिप्पणीहरू