एमालेले अकस्मात किन चलायो "झोले अभियान" ?
सत्तारुढ नेकपा एमालेमा 'म झोले हो' भनेर आफ्नै फोटो मुन्तिर लेख्ने अभियान चलेको छ । राजा फर्काउन सडकमा ओर्लिएका राप्रपा,राप्रपा नेपाल,राष्ट्रिय शक्ति पार्टीलगायत विभिन्न राजावादी समूहका मान्छेले अन्य दलका कार्यकर्तालाई झोले भन्दै आलोचना गर्न थालेपछि त्यसको खण्डनस्वरूप एमालेले उक्त अभियान थालेको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान फेसबुकमा म झोले हो भन्दै पोष्टर राखेका थिए । नमस्कार गरिरहेको फोटोसहितको उक्त पोष्टरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’ लेखिएको छ ।
अध्यक्षले आफूलाई झोले घोषणा गरेपछि कार्यकर्ताले पनि पोष्टरमा आफ्नो फोटो टाँसेर भटाभट फेसबुकमा पोष्ट गरिरहेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,महासचिव शंकर पोखरेल,प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतले पोष्टर टाँसिसकेका छन् । तल्लो तहका कार्यकर्ताले पनि फेसबुकमा छ्याप्छ्याप्ती बनाइसके ।
सरकारमा भएका बेला राम्रो काम गरेर जनताको मन जित्नुपर्नेमा अनावश्यक वादविवादमा फस्न नहुने तर्क उनीहरुको छ । यसले अन्तत: पार्टीलाई घाटा हुने भन्दै एकजना केन्द्रीय सचिवले चिन्ता जनाए ।
एमालेको यो अभियानप्रति पार्टीकै एकथरी नेता भने नाखुस देखिएका छन् । सरकारमा भएका बेला राम्रो काम गरेर जनताको मन जित्नुपर्नेमा अनावश्यक वादविवादमा फस्न नहुने तर्क उनीहरुको छ । यसले अन्तत: पार्टीलाई घाटा हुने भन्दै एकजना केन्द्रीय सचिवले चिन्ता जनाए ।
पार्टी उपमहासचिव तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको आइडिया भन्दै उनले अध्यक्ष ओली स्वयं रिमालको झोले हुन पुगेको टिप्पणी गरे । 'उहाँ एमालेको हैन रिमालको झोले हुनुभयो',कटाक्ष गर्दै भने ।
ओलीको अत्यन्त विश्वासपात्र रिमाल यस्तै यस्तै आइडियाका लागि चिनिन्छन् । २०७९ को आम चुनावलगत्तै एमालेले 'मिसन ग्रासरुट' अभियान चलाएको थियो, अंग्रेजीवाला उक्त नाम उनैले जुराएका हुन् । त्यो नामप्रति भीम रावललगायतका केही नेताले आपत्तिसमेत जनाएका थिए । सायद त्यही भएर होला, पछिल्लो पटक एमालेले जरा अभियान चलाएको थियो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘म पनि चौकीदार’ भन्ने फोटो अभियान चलाएका थिए । उताको सिको गरेर एमालेले अहिले ‘झोले’ फोटो अभियान चलाएको धेरैका बुझाइ छ ।
टिप्पणीहरू