‘झोले’ अभियानबारे खिसिट्युरी गर्नेहरु प्रधानमन्त्रीको नजरमा ‘बिचरा !’

‘झोले’ अभियानबारे खिसिट्युरी गर्नेहरु प्रधानमन्त्रीको नजरमा ‘बिचरा !’

हाम्रो समाजमा ‘झोले’ शब्दलाई त्यति सम्मानजनक सम्बोधन मानिँदैन । कसैले ‘झोले’ सम्बोधन गर्यो भने जोकोही रिसाउन सक्छ, जुन स्वाभाविक पनि हो । तर सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने आज बिहान ‘म झोले हो’ भन्दै आफ्नो ग्राफिक्स तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभयो । तस्बिरसँगै साना अक्षरमा थप लेखिएको छ, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो ।’

प्रधानमन्त्री ओलीले त्यस्तो तस्बिर सार्वजनिक गरेपछि उहाँका सल्लाहकार विष्णु रिमाल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक महेश बर्तौला, सांसदहरू सुनिता बराल, सुहाङ नेम्वाङलगायतले पनि उस्तै प्रकृतिको तस्बिर आआफ्नो फेसबुकमा पोस्ट गरेका छन् । 

एमाले पंक्तिले एकैचोटी उस्तै प्रकृतिको तस्बिर शेयर गरेपछि समाजिक सञ्जाल प्रयोगकर्ताहरु एकछिन अलमलमा परेका थिए । र, करिब एक घण्टापछि बल्ल पार्टीले ‘झोले’ अभियान चलाएको समाचार सार्वजनिक भयो । अहिले एमाले कार्यकर्ताले धमाधम समाजिक सञ्जालमा त्यस्तो फोटो सार्वजनिक गरेर ‘म झोले हो’ भन्दै गर्व गरिरहेका छन् ।

यसरी, एमालेले नेपाली समाजमा अशोभनीय मानिने शब्द प्रयोग गरेर किन फोटो अभियान चलाएको होला ? जिज्ञासा पैदा भइरहँदा प्रधानमन्त्रीले कारण खुलाउनु भएको छ । दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट निस्कने क्रममा उहाँले ‘झोले’ शब्दको परिभाषालाई सही रुपमा स्थापित गर्न फोटो अभियान चलाइएको बताउनुभयो । भन्नुभयो, ‘राम्रो काम बोकेर हिँड्नु, राम्रा कुरा, राम्रा विचार बोकेर हिँड्नु राम्रो कुरा हो, हामीले त्यही गरेका हौँ ।’

प्रधानमन्त्रीलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि तेर्साइहाले, ‘मानिसले खिसिट्युरी गरिरहेका छन् नि !’ एकछिन शान्त भएर उहाँले जवाफ फर्काउनुभयो, ‘विचराहरु !’ त्यसपछि भने उहाँले कुनै प्रतिक्रिया दिनुभएन । 

एमालेले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रदर्शनमा अपेक्षाजनक कार्यकर्ताको सहभागिता देखिएन । प्रधानमन्त्री ओलीले त्यसको तीन दिनअघि ‘काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिए पनि यथार्थमा भने कार्यकर्ताको उपस्थिति न्यून भयो । सोही विषयलाई लिएर विरोधीहरुले ट्रोल गरिरहेको पृष्ठभूमिमा एमालेले पनि जवाफ दिन ‘झोले’ फोटो अभियान चलाएको कतिपयको बुझाई छ ।

टिप्पणीहरू