शंकास्पद अडियो बाहिरिएपछि एमाले नेतृ विवादमा

सुदूरपश्चिम प्रदेश सभाकी सदस्य जानकी ऐर बम शंकास्पद अडियो सार्वजनिक भएपछि विवादमा तानिएकी छन् । उनले नेपाली सेनामा भर्ती गराउन विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनसहितको सेटिङ गरेको आरोपपछि विवादमा तानिएकी हुन् ।
नेकपा (एमाले)को प्रदेश कमिटी सचिवालय सदस्य ऐरले ‘लिखितमा अलि तयार गर्नु, मेजरसापलाई नाम पठाइसकेकी छु’ भनेको अडियोमा सुन्न सकिन्छ । त्यस्तै, बिचौलियाले ‘त्यो भाईले एक लाखको ब्याज स्याज तिरिरहेको छ, नाम ननिक्ले अफ्ठ्यारो हुन्छ नि’ भनेको सुन्न सकिन्छ ।
सांसद ऐर र बिचौलियाले आर्मीमा भर्ती हुन चाहनेहरुसँग लाखौँ रकम लिएर सेटिङ मिलाएको धेरैको निष्कर्ष छ ।
के वास्तवमै यो साँचो हो त ? जनआस्थाले उनै सांसद ऐरलाई सम्पर्क गरेर सोधेको छ । त्यसमा उनले आफ्नो कुनै संलग्नता नरहेको दावी गरिन् । ‘मान्छेका अडियो सार्वजनिक हुन्छन्, भिडियो सार्वजनिक हुन्छन्, के के हुन्छन्, हुन्छन् नि, म त्यसको पछाडि लाग्दैन’, उनले भनिन्, ‘अचेलको जमानमा एउटा मान्छेको टाउको एकापट्टी, शरिर अर्कोपट्टी बनाएर अडियो भिडियो आउछन्, त्यसैले म त्यस्तो कुरामा विश्वास गर्दिनँ, त्यसमा मेरो केही छैन ।’
उसो भए सार्वजनिक अडियोमा सुनिने आवाज कस्को हो त ? भन्ने प्रतिप्रश्नमा उनले हड्बडाउँदै ‘त्यसमा मेरो केही छैन, कुनै संलग्नता छैन’ भनिन् ।
रोचक के भने, सांसद ऐरले सार्वजनिक अडियोमा सुनिने आवाज आफ्नो भएको नबताए पनि घुमाउरो स्वीकारोक्ति गरेकी छन् । सार्वजनिक अडियोमा बोल्ने को हो त ? भन्दा उनले प्रष्ट पार्न सकिनन् । उनले ‘त्यसमा मेरो कुनै संलग्नता छैन, कुनै आर्थिक लेनदेन पनि भएको छैन’ भनेर आफ्नो बचाउ मात्र गर्न खोजेकी छन् ।
जनआस्थाले थप प्रश्न गर्दा उनले पुनः ‘त्यसमा मेरो संलग्नता छैन, अहिले यत्ति बुझौँ’ भनेर फोन काटिन् । सार्वजनिक अडियोमा सुनिने आवाजबारे प्रश्न गर्दा सांसद ऐरले बारम्बार घटनाकेन्द्रीत भएर जवाफ दिनुले आर्मी भर्तीमा आर्थिक लेनदेनको आरोपलाई बल पुर्याएको देखिन्छ ।
जनयुद्धमा भूमिगत भएकी र ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट पुरचौँडी नगरपालिकाको उपमेयर निर्वाचित बनेकी उनी नेकपा विभाजनपछि एमालेमा लागेकी हुन् । केही दिनअघि उनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सभामा खैलाबैला मच्चिएको छ । विपक्षी दलहरुले उनलाई निलम्बन गरेर छानबिन गर्नु मागसमेत गरेका छन् ।
टिप्पणीहरू