संसदमा सभामुखलाई प्रश्न : सभा चलाउने तरिका यस्तै हो ?

विपक्षी दलहरुको अवरोधका बीच प्रतिनिधिसभा बैठक संचालन गरेकोमा सांसदहरुले सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् ।
संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुको विरोध हुँदाहुँदै सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएका थिए । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षले संसदमा अवरोध गरिरहेको बेला संसद चलाउने कदम उपयुक्त नभएको बताए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दागर्दै सभामुखसँग समय लिएर बोलेका उनले नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको छलफल खल्लो भएको भन्दै सहमति जुटाएर बैठक चलाउन आग्रह गरे ।
‘आज अर्थमन्त्रीज्यूले बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरु, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरुमध्ये एउटाले अवरोध गरेको अवस्थामा छ । अर्को दल बेल घेराउ गरेर नारबाजी गरिरहेको छ’, उनले भने, ‘मन्त्रीज्यूले भनेका कुराहरु हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’
त्यसअघि राप्रपाका संसद ज्ञानबहादुर शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै सभामुखको विरोध गरेका थिए । गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेको जनाउँदै उनले थप नबोल्ने बताए ।
टिप्पणीहरू