मौसम पूर्वानुमानबारे जानकार रहन आग्रह

मौसम पूर्वानुमानबारे जानकार रहन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानसम्बन्धी जल तथा मौसम विज्ञान विभागको बुलेटिनबारे जानकार रहन जनसाधारणलाई आग्रह गरेको छ । 

यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएकोले प्राधिकरणले बाढी तथा मौसमको पूर्वानुमानसम्बन्धी पूर्वसूचना तथा पूर्वचेतावनी सूचनाबारे जानकार रही सतर्कता अपनाउन सचेत गराएको हो । मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै जिम्मेवार निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार आवश्यक तयारीमा जुट्न अनुरोध गरिएको छ । 

‘यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै जिम्मेवार निकाय मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार आवश्यक तयारीमा जुट्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न प्राधिकरण हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

गत जेठ १५ गते रातिदेखि कोशी प्रदेशबाट भित्रिएको मनसुन विस्तार हुँदै लुम्बिनी प्रदेशका पूर्वी भू–भागसम्म फैलिएको छ । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा तथा तापक्रम हुने र बाढी, पहिरो, डुबान, भारी वर्षा, चट्याङजस्ता विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने अनुमान छ ।

टिप्पणीहरू