इजरायलमा रहेका नेपालीलाई सुरक्षा प्रोटोकल पालना गर्न आग्रह, हटलाइन सेवा शुरु
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
इरान र इजरायलबीच बढ्दो तनावसँगै जोखिम बढेकाले सुरक्षामा विशेष ध्यान दिन र घरबाहिर ननिस्कन दूतावासले सतर्क गराएको हो । दूतावासद्वारा जारी सूचनामा सकेसम्म सुरक्षित आश्रयस्थलको सुविधा भएकोस्थल आसपासमै रहन सुझावसमेत दिइएको छ ।
स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन पनि दूतावासले अनुरोध गरेको छ ।
‘हाल चलिरहेको इजरायल–इरान युद्धका दौरान इजरायलका विभिन्न स्थानहरुमा ठूलो जनधनको क्षति पुगेको स्थितिमा इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि लगातार अध्यावधिक निर्देशनहरु जारी भइरहेको यस विषम अवस्थामा यहाँ शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा, भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत हार्दिक अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।
दूतावासले कुनै समस्या परिहालेमा दूतावासको २४ सै घण्टा हटलाइन खुल्ला रहने सचिव कुमारबहादुर श्रेष्ठको सम्पर्क नम्बर ५३५३६०७४८ वा सञ्जयकुमार शाहको ५४५५८२०७७ मा सम्पर्क गर्न सुझाएको छ ।

टिप्पणीहरू