उमेर नपुगेकालाई वुद्ध भत्ता दिने गाविस अध्यक्ष अख्तियारको फन्दामा

उमेर नपुगेकालाई वुद्ध भत्ता दिने गाविस अध्यक्ष अख्तियारको फन्दामा

बाँकेको साविक नरैनापुर गाउँ विकास समितिका तत्कालिन अध्यक्ष अजयकुमार श्रीवास्तव भ्रष्टाचारमा तानिएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   

तत्कालीन गाविस अध्यक्ष श्रीवास्तवले उमेर नपुगेका र भारत बिहे गरेर गैसकेका व्यक्तिलाई भत्ता कार्ड उपलब्ध गराएको दाबी छ । अख्तियारले अनुसन्धानपछि उनीसहित १७ जनाविरुद्ध आज मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा तत्कालिन गाविस सचिव सावितराम कुर्मी र अशोककुमार श्रीवास्तव, भत्ता बुझ्ने स्थानीय साहजिमा खातुन, अवधराम बढही, रामजीवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरिराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडही छन् । 

अख्तियारका अनुसार नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अनदेखा गरी वृद्ध भत्ता उपलब्ध गराउनुका साथै नागरिकताको प्रमाणपत्र नभएको वा भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पाइएको छ । 

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम ६ लाख ५६ हजार ७०० रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना गर्न मागदाबी गरिएको छ ।

टिप्पणीहरू