चित्लाङको चित्कार
नेपाल समग्र विकासमा पछि पर्नुको मूल कारण हाम्रा नेताहरूमा रहेको विकास सम्बन्धी गलत चिन्तन रहेको ठम्याइ पूर्वाधारविद्हरूको रहेको छ ।
यसबारे टिप्पणी गर्दै जानकारहरू भन्छन्, ‘कम्तीमा ग्रेटर काठमाडौँ त बनाउन सकिन्थ्यो । त्योसमेत गरेनन् । मानौं, थानकोटबाट चित्लाङसम्म पुग्ने एउटा राम्रो बाटो वा सुरुंग मार्ग भइदिएको भए जनजीवन कस्तो हुन्थ्यो होला ? त्यहाँ सबै सम्भावना छन् तर काठमाडौँ अहिले पनि उनीहरूका लागि निकै टाढाको ठाउँझैँ बनेको छ।
जबकि काठमाडौँसम्मको दूरी लगभग १२ देखि १८ किलोमिटर मात्र हो । त्यहीमाथि चन्द्रागिरि डाँडोमा पाँचतारे होटल र केबलकार बन्दा मुन्तिर रहेको चित्लाङ पुग्न निकै सकस छ । त्यसो त चित्लाङसम्म बाटो नपुगेको होइन । दुई तीन वटा बाटोले त्यो पुरानो वस्तीलाई काठमाडौँसँग जोड्छ । तर, ती सबै लगभग यमराज हिँड्ने सिँढीजस्तो बनेका छन् । त्यही अव्यवस्थित र असुरक्षित मार्गमा पोहोर एउटा परिवारै दुर्घटनामा परेर सखाप हुँदा निकै नेपालीको मन दुखेको थियो । थोरै मात्रै ध्यान दिएको भए त्यहाँको कृषि उत्पादन र उपलब्ध स्रोत–साधनले काठमाडौँको बजार पाउँथ्यो ।
धादिङतर्फ जाने बाटो बल्ल सुरुङ मार्गले जोडिएको छ । टोखा–खहरे सुरुङ मार्ग कहिले बन्ने हो, सपनामै सिमित छ । काठमाडौँको आफ्नो उत्पादनले ४० लाख जनसंख्यालाई धान्दैन भने नजिकैको पहुँच त झन् सहज बनाउनुपर्ने हो । तर त्यतातिर पनि हाम्रा नेता र नीति–निर्माताले सोचेनन् । काठमाडौँको फोहोरलगायतका वस्तु विसर्जन र व्यवस्थापनमा समस्या भइरहँदा नजिकका क्षेत्रहरूमा स्याटेलाइट सिटी विकास गर्ने कुरामासमेत नेता र नीति निर्माता उदासीन बनिरहेको अवस्था छ । यदि छेउछाउका बस्तीहरूलाई नयाँ शहरको रूपमा रूपान्तरण गर्न सकेको भए त्यताका मानिसहरू काठमाडौँमा ओइरिने थिएनन् ।
दूरीका हिसाबले हेर्ने हो भने काठमाडौँवासीले बिहान कुलेखानी गएर दिनभरि घुम्ने, बस्ने र ताजा माछा खाएर बेलुका घर फर्किन पाउनुपर्ने हो । तर, बाटो यति बिकराल छ कि कोही कुलेखानी गयो भने बास नबसी फर्कन्छु भनेर नसोचे पनि हुन्छ । पूर्वतिर काभ्रेमा जसरी धुलिखेल, बनेपाजस्ता शहर विकास भए त्यसैगरी उत्तर, पश्चिम र दक्षिणी भेगमासमेत शहर विकास गर्न सकिन्थ्यो ।
सबैभन्दा उदेकलाग्दो कुरा त के छ भने खास कुनै नयाँ काम नगरे पनि काठमाडौँका मेयर बालेन ‘हाइ हाइ’ बनिरहेका छन् । उनले गरेका काम कुनै नयाँ होइनन् । शहर केही सफा राखे । गमलामा फूलहरू रोपेर बाटो छेउ राखी आकर्षक बनाए ।
सडक छेउका भित्ताहरू रङले पोतेर रंगीचंगी बनाए । जम्मा त्यति गर्दा नै काम चल्छ भने जनता खुशी राख्न नेताहरू किन अगाडि नसरेका होलान् ? चन्द्र ढकालले चन्द्रागिरीलाई गुल्जार बनाए, तर खै त सरकारी तारागाउँ सप्रेको ? बनेका पूर्वाधारहरूमा पनि असमानता अर्को चित्त दुखाइको विषय बनिरहेको छ । एकातिर एउटै खोलामा दर्जनौं पुल छन् भने अर्कातिर तुइन हटेको छैन । मुगु जिल्लामा पहिलोपटक संसदीय समिति गत हप्ता मात्र गयो । यो अर्को प्रमाण हो, देशकै एउटा भाग काखा र अर्को पाखामा परेको ।
टिप्पणीहरू