जेनजीका नाम, मौकामा चौका हान्ने काम

जेनजीका नाम, मौकामा चौका हान्ने काम

एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास गर्ने व्यक्ति नेपाली कांग्रेसको कार्यकर्ता भएको खुलेसँगै जेनजीको नाममा अराजकता मच्चाउनेहरूको पोल खुल्दैछ । युवासंघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगर पुगेका बस्नेतविरुद्ध नाराबाजी गर्दै केही युवाले रातो रङ घोलिएको पानी छ्यापेका थिए । घटनामा संलग्न सञ्जोग गौतमलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनी नेविसंघ महेन्द्र मोरङ क्याम्पस इकाइ सभापति भएको खुलेको हो । 

वैचारिक स्पष्टता, राजनीतिक उद्देश्य र नेतृत्वविनै भदौ २३ र २४ गते सडकमा ओर्लिएका जेनजीहरू दर्जनौँ समूहमा विभाजित छन् । राजतन्त्रको वकालत गर्ने ‘राजावादी जेनजी’ देखि कांग्रेस, एमाले, माओवादी (हाल नेकपा) लगायत प्रमुख पार्टीको पनि जेनजी समूह छ । यसरी जेनजीका नाममा अनेक समूह प्रकट भैरहँदा ‘धमिलो पानीमा माछा मार्नेहरू’ कसरी सक्रिय हुँदा रहेछन् भन्ने कुरा विराटनगर घटनाले उजागर गरेको छ । त्यसो त, भदौ २३ को हुलदंगा र २४ गतेको विध्वंशमा पनि राजनीतिक दलका कार्यकर्ताकै संलग्नता रहेको तथ्य बाहिर आइसकेको छ । सामाजिक सञ्जाल र मिडियामा आएका भिडियो हेर्दा तोडफोड र आगजनीमा तत्कालीन प्रतिपक्ष माओवादी, रास्वपा र राप्रपामात्र होइन सत्ताधारी कांग्रेस र एमालेका कार्यकर्तासमेत सक्रिय रहेको देखिन्छ । 

कांग्रेस, एमाले र माओवादीको पार्टी कार्यालय र नेताका निवास जलाउनेहरू अधिकांश कार्यकर्ता भएको दावी यसअघि नै आइसकेको छ । कांग्रेस महामन्त्री गगन थापाले आफ्नो घरमा आगो लगाउनेहरू एमालेको उपल्लो तहका कार्यकर्ता रहेको खुलासा गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगो लगाएको आरोपमा पक्राउ परेका सोनाम थेवे युवासंघका कार्यकर्ता हुन् । पक्राउ पर्नुअघिसम्म अध्यक्ष केपी शर्मा ओलीको अघिपछि हिँड्ने उनी पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको सुरक्षार्थ खटिएका थिए । 

यता, जेनजीको माग संबोधन गर्न सरकारलाई दबाब दिने भन्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका यादव सिंह माओवादी कार्यकर्ता भएको खुलेको छ । भदौ २३ गते सबैभन्दा पहिले प्रहरीलाई ढुंगा हानेर स्थिति भड्काएको आरोपमा जेनजी समूहबाटै बहिष्कृत भएका उनी केही समय बेपत्ता भएका थिए । अवस्था सहज भएसँगै ‘क्रान्तिकारी जेनजी’ बनेर आएका सिंह कात्तिक २५ गतेदेखि अनशनमा रहे । यसबीच प्रधानमन्त्रीको सचिवालयले अनशन तोडाउन प्रयास गर्दा प्रचण्डको उपस्थितिमा मात्र सम्झौता गर्ने शर्त राखेका थिए । 

प्रचण्डकी कान्छी बुहारी बिना मगरको गृहजिल्ला कञ्चनपुर घर भएका सिंह पहिले माओवादी छात्र संगठन क्रान्तिकारीमा आवद्ध थिए । आन्दोलनको दिन उनले ढुंगा हानिरहेको भिडियो र फोटो सार्वजनिक भएपछि जेनजीले नै नालीबेली उतारेर साँझ डिस्कर्डमा बहस गरे । शुरुमा उनले ढुंगा हानेका कारण आन्दोलन हिंसात्मक बनेको निश्कर्ष निकाल्दै डिस्कर्डले अस्वीकार गर्ने भन्यो । त्यसपछि मानव हत्याको दोष आफूमाथि आउने देखेर बेपत्ता भएका उनी एकाएक माइतीघरमा प्रकट हुनुलाई जेनजीका अरू समूहले राजनीतिक आँखाबाट हेरेको पाइन्छ । 

भदौ २३ को घटनालाई राजनीतिक आन्दोलनको मान्यता दिनुपर्ने, केपी ओलीलाई पक्राउ गर्नुपर्ने र घटनाको निष्पक्ष जाँचबुझ हुनुपर्ने सिहंको मुख्य माग छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार यसबारे छलफल गर्न केही दिनअघि बालुवाटारमा द्दिपक्षीय वार्ता भएको थियो । कानुन व्यवसायी इन्द्र अर्याल, चिकित्सक डा. जगत बिकसहित सिंहको जीवनरक्षाका लागि पहल गरिरहेका जेनजीहरू सहभागी वार्तामा सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बालुवाटारबाट टोली उत्साहित भएर फर्किएको थियो । तर, प्रचण्डको उपस्थितिमा मात्र सहमति पत्रमा हस्ताक्षरमा गर्ने अडान सिंहले राखेपछि अवस्था बदलिएको स्रोतको दावी छ । 

‘केपी ओलीलाई समात्नेबाहेक उनका सबैजसो माग यसअघि नै पूरा भइसकेको थियो । बाँकी माग पनि पूरा गर्दै जाने प्रतिवद्धता जनाएपछि वार्ता टोली उत्साहित भएर फर्किएकोमा पछि उनले प्रचण्डको उपस्थितिमा मात्र सहमति गर्ने अडान राखेको खबर आयो’, प्रधानमन्त्री सम्वद्ध स्रोतले भन्यो, ‘अहिलेसम्म यस्तो अभ्यास नभएको भनेर सम्झाउँदा पनि झन् चर्को कुरा गर्न थालेपछि अहिले त जीवन रक्षाको पहल गर्दै सिंहदरबार र बालुवाटार धाउने जेनजीहरू पनि पछि हटेका छन् ।’

एकथरीले यसरी जेनजीको नाममा स्वार्थको रोटी सेक्ने दाउ खोजिरहँदा वास्तविक जेनजीहरूले भने सरकारले दिएको सुविधासमेत लिएका छैनन् । जेनजी आन्दोलनको क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेको व्यवस्थापनका लागि सरकारले मापदण्ड बनाएर आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । क्याबिनेटबाट भएको निर्णयअनुसार प्रतिमृतकका परिवार १५ लाख दिने निर्णय भएकोमा अहिलेसम्म ५१ जनाले रकम बुझेका छन् । 

घाइतेको हकमा उनीहरूको अवस्थाअनुसार चार भागमा वर्गीकरण गरेर सोहीअनुसार उपचार खर्च र निर्वाह भत्ता उपलब्ध गराइँदै छ । घाइते परिचयपत्रको आधारमा कलेज पढिरहेकाहरूलाई अध्ययन खर्च व्यहोर्नेदेखि शहीद र घाइतेका परिवारलाई जागिर उपलब्ध गराउनेसम्मको निर्णय भएको छ । त्यसअघि शुरुमा सामान्य घाइतेलाई जनही २० हजार र सहयोगी राख्नुपर्ने अवस्थाका गम्भीर घाइतेलाई दोब्बर खर्च दिने निर्णय थियो । प्रधानमन्त्रीको सचिवालयले भनेअनुसार धेरैले अहिलेसम्म रकम लिएका छैनन् ।

यता, आन्दोलनमा पानी बाँड्ने भूमिकाबाट रातारात जेनजी अगुवा बनेर आएका सुदन गुरुङले पनि पहिलाजस्तो उग्र कुरा गर्न छोडेको खबर छ । प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नेदेखि सरकारी कार्यालयका कर्मचारीलाई धम्क्याउँदै हिँड्ने गरेका उनी जेनजीबाटै आलोचनामा पर्न थालेपछि पछिल्लो समय फरकरूपमा प्रस्तुत हुन थालेका हुन् । जेनजी आन्दोलनले उठाएका मुद्दा संबोधनका लागि सरकारसँग गर्ने सम्झौताको मस्यौदा बुझाउन कात्तिक २८ गते प्रधानमन्त्रीकहाँ पुगेका गुरुङले कसैलाई गालीगलौज गरेनन् । स्रोतका अनुसार आफ्नो तर्फबाट अरूलाई नै बोल्न लगाएका उनी पूरै समय मौन बसेका थिए । 

अर्कोतिर, सरकारले चुनौती ठानेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेलहरू पनि पछिल्लो समय शान्त देखिएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने योजनामा प्रधानमन्त्री सुशीला कार्कीको साथ नपाएपछि रिसाएका बालेन अहिले सिंहदरबार र बालुवाटारसँग सम्पर्कमा समेत नरहेको बताइन्छ ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू