राजु पाण्डेलाई हटाउने निर्णयमा अदालतको रोक

राजु पाण्डेलाई हटाउने निर्णयमा अदालतको रोक

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथिको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको गरेको छ ।

न्यायाधीशद्धय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले उनलाई ६ महिनाका लागि निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । 

आदेशमा भनिएको छ, ‘निवेदनको टुंगो नलागेसम्म यी निवेदकको नाममा प्रेषित मिति २०८२–०२–२० को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनु दिलाउनु भनी उच्च अदालत नियमावलीको नियम ४२ (१) बमोजिम विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ ।’

महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सोबमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको तथ्यलाई निवेदकले इन्कार गरेको नदेखिएको उल्लेख गर्दै अदालतले भनेको छ, ‘सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेलिखत जाँचबुझ समितिको कार्य कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन ।’

गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर प्रवेश गर्ने क्रममा मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा पाण्डेले उनलाई रोकेका थिए । प्रमुख प्रशासकीय अधिकृतको अधीनमा रहनुपर्ने नगर प्रहरी मेयरको आदेश मानेर उल्टै प्रशासकीय अधिकृतलाई रोक्न खोजेपछि गुरागाईंले उनलाई गत जेठ २० गते ६ महिनाका निम्ति निलम्बन गर्ने निर्णय गरेका थिए ।

 

टिप्पणीहरू