जयवीर र भानीभूषणको युवा विद्रोह !

टेलिभिजन पत्रकार दिलभुषण पाठककी छोरी भानीभुषण युलियन्स स्कूलको दिक्षान्त समारोहकी प्रमुख अतिथि, देशको परराष्ट्रमन्त्री, त्यसै विद्यालयकी हर्ताकर्ता आरजु देउवाले हात तेस्र्याउँदा पनि बेवास्ता गर्दै अगाडि बढेको दृश्यसहितको क्लिक सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अर्कोतर्फ, नेपाल प्रहरी झूठो र तथ्यहीन भिडियो बनाएर प्रशारण गरेको कसूरमा काठमाण्डौं जिल्ला अदालतबाट जारी भएको आदेशसहित दिलभूषणलाई पक्रन धुइँपत्ताल खोजी गरिरहेको छ । दिलभूषणभने आफूले बनाएको युट्युब पेशा, ब्यवसाय र ओहोदाको मर्यादा अनुकूल छ भनेर साइबरब्यूरोमा विद्युतीय कारोवार ऐनबमोजिम दावी प्रस्तुत गर्नबाट विमुख देखिएका छन् ! यसैवीच देशका तीन दर्जन बढी चर्चित पत्रकारहरूको जमातले नगरकोट पुगेर पाठकलाई पक्राउ नगर्न संयुक्त वक्तव्य प्रकाशित गरेको छ ! वक्तब्य जारी गर्नेहरूले आफू र आफू संलग्न सञ्चारमाध्यममा त्यसैलाई समाचार बनाएर प्रकाशन, प्रशारण र पोष्ट गर्दै भाइरल बनाइरहेका छन्, मानौं प्रेस स्वतन्त्रताको चीर हरण भैरहेछ !
चिनेका, नचिनेका शुभेच्छुक, मित्रहरू मात्र होइन, बाटो हिंडिरहँदा एकैछिन भन्दै पंक्तिकारलाई दिलभुषण पाठकवारे प्रश्न गर्छन्–के हो यो घटना ? किन पत्रकारलाई पक्राउ गर्न खोजिँदै छ ? सरकार किन यति धेरै निरंकुश भएको हो ? अदालत किन सत्ताको पुच्छर भएको ? अब यो सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई पूरै निषेध गर्न लागेको हो ? निर्दोष पत्रकारलाई गिरफ्तार गरेर स्वाभिमानीहरूलाई तर्साउन खोजिँदैछ जस्ता आक्रोशहरूको दिनदिनै सामना गरिरहनुपरेकोले यति लेख्नु परेको हो । थाहा छैन, पत्रकार भएर पत्रकारको कमजोरी उदांगो पारेको भनी कति जनाबाट गोत्रमाथि नै औंला ठड्याएको भन्ने आक्षेप खेप्नुपर्ने हुनसक्छ ? कतिपयले वास्तविकता थाहा पाएपछि सत्य कुरा लेखिस् पनि भन्लान् कि ? यस्ता आरोप प्रत्यारोप, धाप र छाला तरिने गरी कति शब्दबाँण चल्ने हुन् । मिडियाको दादागिरीका दिन सकिन लागेकोले मनमा यस्ता भाव आइरहेका त होइनन् ? निन्द्रा त्यसैले लाग्न छाडेको हो ? करेक्सनको थालनी कहाँबाट गर्ने होला ?
भएको के थियो ?
दोहोर्याइरहनै पर्दैन, हिजोआज जोसुकै रातारात भाइरल हुन चाहन्छन् । त्यस्तै मौकाको ताकमा रहेको राप्रपाको युवा संघका अध्यक्षले एउटा गुलछर्रा फ्याँकिहाले । ज्ञानेन्द्रलाई नारायणहिटी प्रवेश गराउने राप र तापको त्यो बेला राप्रपा युवासंघका अध्यक्ष तथा पत्रकार र वकिलसमेत रहेको भनिएका सुजीत केसीले भ्रष्टाचारविरोधी चर्को भाषण गरे । अनि त्यही कुरा सामाजिक सञ्जालमा पोष्ट पनि गरे । राजावादी आन्दोलनको क्रममा छिट्टै चर्चामा आउन उनले ६ अर्बमा बनेको हिल्टन होटल पाँचपल्ट पूर्वप्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवा अनि परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीरले किनेको तपाईंहरूलाई थाहा छ कि छैन ? उनले सनसनीदार शैलीमा बोले । गणतन्त्रवादीहरूले लुट मच्चाउँदै भ्रष्टाचार गरेर देशलाई कसरी खोक्रो पारेका छन् भन्ने उदाहरण दिए ! उनले त्यसो भन्नेबित्तिकै सञ्चार माध्यमहरूले केसीलाई उधृतगर्दै सोधखोज, रिट्ठो नबिराई सम्प्रेषण गरे । त्यो आरोपलाई पुष्टि गर्ने प्रमाणहरूको खोज अनुसन्धानमा कोही लागेन । सुन तस्करीमा भरिया समातेर देखाए जत्ति पनि गरिएको देखिएन । वरिष्ठ भनिएका पत्रकारले पनि बतासे पत्रकार र आफूबीचको अन्तर देखाउन सकेनन् ! बरु सम्पादकको सट्टा ब्यवस्थापक पो हावी भएको देखियो !
देउवाको छोराले त्यतिधेरै पैसामा होटल किनेको हो भने त्यसलाई सावित गर्ने प्रमाण राप्रपाका उत्तेजित युवकको हवाला दिएर होइन, किन्ने र बेच्नेबीचको कारोवार, दर्ता नामसारी, सम्पत्तिमा कायम भएको स्वामित्ववारे आफूले विश्वासिलो प्रमाण नभेट्टाई कसरी समाचार बनाउन सकिन्छ ? उल्टै प्रहार आफूमाथि त हुँदैन ? पत्रकारको आचार संहिताले औंलो ठड्याउँदैन ? कहाँबाट ल्याइयो त्यत्रो पैसा ? स्रोत ? हुण्डी ? कानूनी आधारलाई कसरी सिल्टिम्मुर खुवाइयो ? होटलको स्वामित्व कसरी हस्तान्तरण भयो ? कसका नाममा भयो ? कहिले भयो ? ब्यवस्थापन ? तर समाचार बनाउनेहरूले मात्र एउटै कुरामा जोड दिएको देखियो, हिल्टन होटल शेरबहादुर र आरजु राणाको छोरा जयवीर देउवाको नाममा किनियो ! ठूलो स्वरले हल्लाखल्ला गरियो । बाबुआमाले भ्रष्टाचार गरेर अकुत कमाएका थिए, छोराले तह लगायो । लुटको धन फुपुको श्राद्ध !
सामाजिक सञ्जालमा यो खबर त्यसैगरी भाइरल भयो जसरी ऋतिक रोशनले नेपाल र नेपालीलाई अपहेलित गरेर बोले भन्दै चितवनको स्थानीय पत्रिकामा समाचार छापिएपछि राजधानीको प्रमुख पत्रिकाले त्यसै आधारमा समाचार छापिदियो । अनि त स्वतस्फुर्त रूपमा मानिसहरू सडकमा उत्रिएर पटापट भारतीयहरूलाई कुट्न थाले । चर्चित स्तम्भकार हरि रोक्का बेलाबेला सम्झाइरहन्छन्, आफू त तिमीहरू भन्दा अलि कालो अनि जोगिनका लागि काठमाण्डौंमा ढाका, टोपी लगाएर हिँड्न थालें । जयवीरविरुद्ध धन्न सडकमा मानिसहरू उत्रिएनन् । कुनै पनि बेला आफूमाथि लागेको आरोपले चरित्र हत्यामात्र होइन, जे पनि हुनसक्ने ठानेर झुठो, भ्रामक र कपोलकल्पित हल्ला फिंजाई अन्यौल सिर्जना गर्न खोजेको भन्दै साइबर व्यूरो पुगे । प्रहरीले केसीलाई पक्राउ ग¥यो । त्यसविरुद्ध केसी पक्षले पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्यो । दर्जनौं वकिलले बहस गरे । राजावादीहरू भेला भएर नारायणहिटी कब्जा गरी ज्ञानेन्द्रलाई सिंहासनमा चढाउने चर्चा चरम थियो । अदालतले गम्भीरतापूर्वक गिरफ्तारी र केसीको पोष्टउपर विवेचना गर्यो । त्यतिबेलासम्म केसीले सामाजिक सञ्जालबाट आफ्नो पोष्ट हटाइसकेका थिए । त्यसैले केसीलाई पक्राउ गरेर कारवाही गरिरहनु नपर्ने भनी हाजिरी जमानीमा राखेर मुद्दा चलाउन आदेश दियो । त्यसैबेला राजावादी भएकोले केसीलाई पक्राउ गरेर कारवाही गर्ने तर त्यही कुरा दिलभुषण पाठकले गर्दाचाँहि मुक्ति दिने कुरा उठ्यो । केसीमाथिको कारवाही पूर्वाग्रहयुक्त रहेको दावी गरियो ।
यसबाट झसंग भएका जयवीर देउवा पत्रकार दिलभुषण पाठकले सम्प्रेषण गरेको युट्युबविरुद्ध प्रेस काउन्सिल गए । तर त्यहाँ पाठकको नाउँमा युट्युब दर्ता नभएकोले उनी उजुरी लिएर विद्युतीय कारोवार ऐन, ०६३ बमोजिम साइबर ब्यूरो पुगेको उनका कानून व्यवसायी अधिवक्ता केशवराज जोशीले बताएको सुनियो । त्यसपछि ब्यूरो अनुसन्धान अगाडि बढाउन पाठक फेला नपरेकाले काठमाण्डौं जिल्ला अदालतमा पक्राउ गरेर अनुसन्धान गर्ने आदेश माग गर्न पुग्यो । अदालतले पक्राउ गर्न स्वीकृति दियो । यो आलेख तयार पारुञ्जेलसम्म पाठक साइबर व्यूरोमा आफूले तयार गरेको युट्युबको सत्यता र प्रमाणवारे पक्षपोषण गर्न गएका छैनन् । गल्ती भएको छ भने समाचार सच्याउन वा आफैं सच्चिन र थप खोज्न नसकिने होइन । प्रजातन्त्रको जननी भनिने बेलायतमा चर्चित पत्रिका द सनको दर्ता नै सरकारले खारेज गरिदिएको थियो । भन्न के खोजिएको हो भने, अखवारले मुख छोपेर प्रेस स्वतन्त्रताका नाउँमा जे पनि लेख्न, बोल्न र देखाउन पाइँदैन !
भानीभूषण र जयवीर !
पत्रकार र राजनीतिज्ञको चेपुवामा परेका यी दुई युवा यतिखेर नयाँ विम्ब बनेका छन् । पत्रकार र युट्युब भिन्न कुरा हुन् र पत्रकारले जथाभावी ग¥यो भने निर्दोषहरू कसरी मारमा पर्छन् भन्ने उदाहरण जताततै देखिन थालेको छ । बूढो वा बुढी मरिभन्दा पनि जिम्मेवार पत्रकारले काल पल्किएको कुरा देख्न सक्नुपर्छ । आफ्ना बाबुलाई रोलमोडल मानेर उसले जे गर्छ सत्यवाहेक केही गर्दैन भन्ने छाप परेकी भानीभूषण र प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको छोरा भएकोले जस्तोसुकै आरोप सहने होइन त्यसविरुद्ध विद्रोह गर्ने आँट भएको जयवीर देउवा हाम्रो समाजमा भइरहेको टक्करलाई उजागर गर्ने दुई प्रतिनिधि पात्रको रूपमा देखापर्नु संयोग मात्र होइन । के यी साँच्चिकै चर्चा गरिनुपर्ने पात्रहरू हुन् त ? हुन् भने यिनलाई कुन रूपमा र कसरी बुझ्ने ? फलानाका छोरा छोरी भएकाले यिनलाई तिनैसँग मिसाउने हो ? तिनलाई अमूक बाबु वा आमाका छोरा वा छोरी मात्र मान्ने कि बेग्लै नागरिक ? यी उमेर पुगेका स्वतन्त्र बालिग नागरिक हुन् कि होइनन् ? हाम्रो नयाँ पुस्ता यसवारे कति सचेत र जागरुक छ ? भानी र जयवीर कति चेतनशील छन् ? भानीले परराष्ट्रमन्त्री र विद्यालय संरक्षकको पदमा विराजमान भएको भन्दैमा त्यो ब्यक्तिलाई मैले मान्नु वा आदर गर्नुपर्छ भन्ने कत्ति ठान्दिन भन्ने प्रदर्शन गरिन् । यसबाट स्पष्ट हुन्छ नयाँपुस्ताको जोश, जाँगर र स्वाभिमान ।
आफ्नो दीक्षान्त समारोहको प्रमुख अतिथि भएकोले उनको अगाडि मैले लम्पसार पर्नुपर्छ भन्ने रत्ती भाव पनि यिनमा देखिएन । उनले दायाँ र बायाँ बसेकाहरूसँग हात मिलाइन् तर राणालाई ठाडै अस्वीकार गरिन् । सांकेतिक रूपमा भानीले देखाएको यो विम्ब सानो कुरा झैं लाग्न सक्छ तर उनमा जे छ त्यो नयाँपुस्तामा विकसित भएको मौलिकपन हो । प्रमुख अतिथिले पसारेको हातलाई गरिएको बहिष्कार मूल्यवान छ । यो लरतरो ब्यवहार पटक्कै होइन । त्यसैगरी जयवीरले बाबुआमा देशका कार्यकारी प्रमुख रहेका र फेरि हुनलाई खुट्टो उचालेका प्रतिष्ठित ब्यक्ति भए पनि उसले भित्रैदेखि म जैविक रूपमा शेरबहादुर र आरजुको सन्तान हुनुवाहेक मेरो आफ्नै ब्यक्तित्व र हैशियत छ, म बिना प्रमाणका आरोप, प्रत्यारोप र अफवाहहरू सहेर बस्दिन भनेर आत्मैदेखि लागे । यसबाट उनले नयाँ पुस्ता थांङ्ने कुरा किमार्थ स्वीकार्दैन भन्ने सन्देश दिए । त्यही भएर हुनुपर्छ, आक्षेप जस्तोसुकै लागेको होस्, सार्वजनिक रूपमा त्यसको प्रतिकार गर्छु भनेर जयवीर पनि मैदानमा उत्रिएकोे छ, यो लरतरो आँट होइन । यी दुईमा एउटै कुरामा समानता देखिएको छ र त्यो हो आत्मैदेखि आफूलाई नलागेको कुरा कुनै हालतमा पनि स्वीकारिंदैन । यो पन, यो क्रेज र यो लहर नै नयाँ पुस्ताको आत्मा हो । आत्मसम्मान हो । बिम्ब हो । अहिलेको समाजले, नेतृत्वले बुझ्न नचाहेको, नसकेको यथार्थ हो ।
गएको निर्वाचनमा काठमाण्डौंमा बालेन साह, धरानमा हर्क साङपाङ र धनगढीमा गोपी हमालमार्फत देखिएको नयाँ पुस्ताको विद्रोह त्यही विम्ब हो । यतिसब भैसकेपछि पनि वर्तमान नेतृत्वले आफूलाई न समयानुकूल सच्याउन सकेको छ न त गल्ती स्वीकार गर्ने आँट नै देखाउन सकेको छ । बाबु र आमाको कारण, पत्रकार र गैरपत्रकारको कारण, त्यसप्रतिको प्रेमको कारण नयाँ पुस्ताले विद्रोह गरेको होइन । यो पुस्ता हरेक घटनालाई अब्जर्भ गर्छ, जस्टीफाइ गर्छ र राजहाँसले झैं दूधको दूध पानीको पानी छुट्याउँछ ! त्यसैले बालेनले जित्यो, हर्कले जित्यो र हमालले चुनाव जित्यो । मै हुँ भन्ने जडसूत्रवादी हस्ती तीन बल्ड्यांग खान पुगे ! जयवीर र भानीले नयाँपुस्ताको छनक देखाइदिएका छन् !
टिप्पणीहरू