क्याम्पसमा हानाहान, विद्यार्थीको आक्रमणमा प्रहरीको औंला भाँचियो
धनुषाको जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका विद्यार्थीले प्रहरीमाथि आक्रमण गरेका छन् ।
परीक्षामा प्रश्नपत्र बाँड्न ढिलो हुँदा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले एक इन्स्पेक्टरको औंला भाँचिदिएका हुन् ।
बीबीएस तेस्रो वर्षका परीक्षार्थीलाई प्रश्नपत्र बाँड्न ढिलाइ भएपछि क्याम्पस प्रमुख वसन्त कर्णसँग विद्यार्थी नेताहरुको विवाद भएको हो । उनीहरुले क्याम्पस प्रमुख कर्णलाई हातपात गर्न खोजेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले बताए ।
घटना साम्य पार्न पुगेका इन्स्पेक्टर जिवछ सिंहको औंला भाँचेको र प्रहरी पोशाक पनि च्यातिदिएको उनको भनाइ छ । ‘त्यहाँ परीक्षार्थी धेरै छन् । क्याम्पस प्रमुखले प्रश्नपत्र बाँड्ने व्यवस्था मिलाउँदै हुनुहुँदो रहेछ । त्यसपछि परीक्षार्थीहरुले विवाद गरे । प्रहरीले घटनालाई साम्य बनाउन खोज्दा पोशाक च्यातिदिए । एक इन्स्पेक्टरको औंला नै भाँच्चिदिए’,उनले भने ।
इन्स्पेक्टर सिंहको औंलामा प्लास्टर गरिएको उनले जानकारी दिए । डिएसपी सिंहका अनुसार प्रहरीमाथि हातपात गरेको आरोपमा क्याम्पसका स्ववियु सभापति मनिष यादव र चमनप्रसाद गोइतलाई पक्राउ गरिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
यता, विद्यार्थीहरुले उनीहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शन शुरु गरेका छन् ।
टिप्पणीहरू