सबै श्रेणीहरू

बालेनका फौजद्वारा सुरक्षा सामग्री ‘कपी’

बालेनका फौजद्वारा सुरक्षा सामग्री ‘कपी’

गृह मन्त्रालयको निर्देशनविपरीत नेपाली सेनाको जस्तै पोशाक प्रयोग गर्दै आएको काठमाडौं महानगर प्रहरी बलले सुरक्षा सामग्री पनि ‘कपी’ गरेको छ ।

आत्मसुरक्षाका लागि भन्दै बलले हिजो नगर प्रहरीलाई विभिन्न सामग्री वितरण गरेको छ । जसमा हेल्मेट,लाठी,सिल्ड रहेको छ । 

त्यसैगरी, ‘केएमसी पुलिस’ लेखिएको बुलेट प्रुफ ज्याकेट पनि उपलब्ध गराइएको छ । कार्यसम्पादनका क्रममा कहिलेकाँही अप्ठेरो अवस्था आउने हुँदा ती सामग्री दिइएको बलले जनाएको छ । बुलेट प्रुफ ज्याकेट भिरेर हातमा सिल्ड र लाठी बोकेका नगर प्रहरी ठ्याक्कै प्रहरीजस्तै देखिएका छन् । यसले गर्दा आम सर्वसाधारणमा भ्रम सिर्जना हुने सम्भावना बढेको छ ।

अदालती आदेशबाट टिकेका महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले सेनाको पोशाकसँग मिल्ने पोशाक लगाउँदै आएका छन् । उनले चढ्ने गाडी पनि सेनाको जस्तै छ । गृहले गत असोज १४ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षाकर्मीको पोशाक र दर्ज्यानी चिन्हसँग मिल्दोजुल्दो हुनेगरी सरकारी वा गैरसरकारी निकाय र संघसंस्थालाई पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।

असोज १५ गते प्रहरी मुख्यालयले कसैले पोशाक र दर्ज्यानी चिन्ह ‘कपी’ गरेमा कारबाही गर्न भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । महानगर प्रहरीले अहिले पनि सोही पोशाक प्रयोग गरेर गृहको निर्देशन लत्याएको छ ।