विभागका कारण राजश्व छल्नेलाई हाइसञ्चो

आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०८१–०८२ मा कर अनुसन्धान तथा परीक्षण स्थगित गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२–०८३ को शुरुदेखि कर संकलनको नयाँ नीति लिने भएकाले अनुसन्धान तथा परीक्षणलाई तत्काल ‘होल्ड’ मा राखिएको बताइन्छ ।
विभागले मातहत कार्यालयलाई ८२ वटासम्म कर संकलन सूचक तोकेर त्यसका आधारमा राजस्व निर्धारण तथा असुली गर्न जिम्मा दिएको छ । तर, कर छलीसँग सम्बन्धित अनुसन्धान र परीक्षण दुवै रोकिएपछि राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिन्छ । एक कर्मचारीका अनुसार नयाँ नीति लागू हुने तयारीसँगै विगतको तुलनामा ५० प्रतिशत मात्र फाइल सम्पूर्ण परीक्षणलाई लागि कार्यालयहरुमा पुगेका छन् ।
यता, कर अनुसन्धान तथा परीक्षण नगरिने भएसँगै नयाँ तरिका अपनाएर राजश्व छली गर्नेहरुलाई हाइसन्चो भएको छ । विगतमा नक्कली बिल छाप्नेदेखि बिल नदिनेसम्मका घटना हुने गथ्र्यो । अहिले भने नयाँ तौरतरिका अपनाउने गरेको भेटिन्छ । कृत्रिम कारोबार देखाएर बिल लेनदेन गर्ने गरेको घटना बेला बेला बाहिर आउने गरेको छ ।
आन्तरिक राजश्व विभागले जेठ मसान्तसम्म जम्मा ८४ प्रतिशत मात्र लक्ष्य भेटाएको छ । विगतमा विभागले पठाएको फाइलको कर परीक्षण र अनुसन्धान तथा कर निर्धारण गर्दा सरकारको खातामा राजश्व दाखिला हुन पाउँथ्यो । गत वर्ष कर पुनः परीक्षण गर्दा करिब दुई हजार फर्ममा पुनः लेखापरीक्षण गरेर कर निर्धारण गरिएको थियो ।
टिप्पणीहरू