आयुर्वेदिकपछि मनमोहनमा मेडिकलको तयारी
मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ मा फार्मेसी अध्ययनरत विद्यार्थीहरुले चार किसिमका आर्युवेदिक औषधि उत्पादन गरेका छन् । कोशी प्रदेश सरकार मातहतको विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ फार्मेसी साइन्स (औषधि विज्ञान) विषयमा स्नातक अध्ययनरत विद्यार्थीहरुको समूहले जडीबुटीमाथि अनुसन्धान गरेर चार प्रकारको आर्युवेदिक औषधि उत्पादन गरेका हुन् ।
भारतको पतञ्जली आर्युवेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा.सुनिलकुमार शुक्लाको नेतृत्वमा औषधि उत्पादन गरिएको विश्वविद्यालयले जनाएको छ । जसअनुसार विद्यार्थीले भिक्स, सञ्चोजस्ता औषधि बनाएका छन् । आफ्नै मुलुकमा सहजरुपमा पाइने कच्चा पदार्थको प्रयोग गरेर आफ्नै प्रयोगशालामा औषधि उत्पादन गर्नु ठूलो सफलता भएको उपकुलपति डा.सुवासश्री पोखरेलले बताए ।
थप औषधि उत्पादनका लागि अनुसन्धान भइरहेको उनले जानकारी दिए । सरकारले प्रवद्र्धन गरेमा सो औषधि चाँडै बजारमा लैजान सकिने उनको भनाइ छ । ‘ओखती उत्पादनमा कोशी प्रदेशमै पाइने जडीबुटीको प्रयोग गरिएको छ । अब मनमोहनले नेपाली जडीबुटी प्रयोग गरेर मधुमेहको उपचार गर्ने र ब्याक्टेरियोफेजसम्बन्धी औषधि उत्पादन गर्नेबारे अनुसन्धान गरिरहेको छ’,उनले भने ।
मनमोहन प्राविधिक विश्वविद्यालयमा एप्लाइड एण्ड हेल्थ साइन्स स्कुलअन्तर्गत स्नातक तहमा फार्मेसी विज्ञानमा पठनपाठन भइरहेको छ । उक्त विषयमा विद्यार्थीहरुलाई व्यवहारिक अनुसन्धानका लागि अमेरिकी प्रविधिमा आधारित आफ्नै गुणस्तरीय ल्याबहरु निर्माण गरिएको छ । त्यसैगरी, सीपमूलक र प्राविधिक शिक्षा प्रदान गर्ने, उच्चतम शिक्षालाई खोज अनुसन्धानमूलक बनाउन मनमोहनले अनुसन्धान केन्द्र स्थापना गरेको छ । केन्द्रमा हाल १० वटा अनुसन्धान भइरहेको छ ।
केन्द्रले विज्ञापन प्रविधि, इञ्जिनियरिङ, चिकित्सा, कृषि, वन वातावरणको क्षेत्रमा कोशी प्रदेशका विद्यार्थी र युवा वैज्ञानिकहरुलाई सहयोग गरिरहेको जनाएको छ । शिक्षण अस्पताल प्राप्तीसँगै आगामी वर्षदेखि विश्वविद्यालयले मेडिकलतर्फ विभिन्न प्राविधिक विषयमा पठनपाठन गर्ने तयारी थालेको छ ।
टिप्पणीहरू