निर्माणाधीन पुल भत्किँदै, सरकारी अधिकारीहरु पन्छिँदै

निर्माणाधीन पुल भत्किँदै, सरकारी अधिकारीहरु पन्छिँदै

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोशी नदीमाथि बनिरहेको पक्की पुल गत असार ८ गते भत्कियो । निर्माणाधीन उक्त पुलको एउटा स्पानको स्ल्याब पूरै खसेको छ । यो पुल निर्माणकै अवस्थामा दोस्रो पटक भाँचिएको हो ।

गत वैशाखमा पनि पुलको एउटा स्ल्याब भत्किएको थियो । यसअघि गत जेठ ३१ गते पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, जोड्ने हेवाखोलामा निर्माणाधीश बेलिबिज्र भाँचिएको थियो । घटनामा तीन जना मजदुरले ज्यान गुमाए । 

हेवाखोलाको पुल ०८० असारमा आएको बाढीले बगाएको थियो । पुल बगेपछि राजमार्गमा बेलिब्रिज जडान गरियो । तर, गत असोजको बाढीले बेलिब्रिज पनि बगाएपछि भारतीय प्राविधिक सहयोगमा पुल निर्माण भइरहँदा जडानका क्रममा भत्किएको हो । 

यस्तै, गत चैत २८ गते उदयपुरमा पनि बन्दै गरेको पक्की पुल भत्कियो । कटारी नगरपालिका–२, सिद्धिचरण लोकमार्गस्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बनिरहेको पक्की पुल भाँचिएको हो । घटनाको तीन साताअघि मात्र ढलान गरिएको सो पुल चैत २७ गतेको बाढीमा भत्किएको थियो । 

पछिल्ला केही महिनामा मात्रै निर्माणाधीन अवस्थाका तीन वटा पुल भाँचिएका छन् । मुलुकमा बन्दै गरेका पुल भाँचिएका वा भत्किएका यी घटना अहिले मात्र देखिएका होइनन् । वर्षेनी यसरी निर्माणाधीन वा भर्खरै बनेका पुलहरु भाँचिन्छन् वा खोलासँगै बग्ने गरेको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, स्थित क्यानखोलामा गत वर्ष जेठमा निर्माणाधीन पक्की पुलको फर्मा भत्किँदा चार जना मजदुर घाइते भए । ०८० पुसमा भोजपुरको उत्तरी षडानन्द नगरपालिका–२, कुदाकाउले र साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडा जोड्ने इर्खुवास्थित तामुटार खोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको थियो । 
०७८ मा ओखलढुंगा र सिन्धुली जोड्ने सिन्धुलीको फिक्कलमा बन्दै गरेको पुल बाढीपछि भत्कियो । सोही वर्ष सिन्धुलीकै ग्वाङखोला र रुकुम पश्चिमको बैरागीठाँटी खोलामा निर्माणाधीन पक्की पुल पनि भाँचिएको थियो ।

०७७ चैतमा तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशुली नदीमाथि बनिरहेको दुई सय २० मीटर लामो पक्की पुल ढलान गरेको तीन साता नबित्दै भत्किएको थियो । त्यसअघि ०७६ वैशाखमा गुल्मीको मुसीकोट नगरपालिका–३ र ८ जोड्ने बडिगाड खोलामा निर्माणाधीन पुल ढलान गरेको दुई दिनमै भाँचियो । 

सोही वर्षको जेठमा मेचीनगर नगरपालिका–१२, को हँडिया खोलामा बनिरहेको पक्की पुल ढलान गर्दागर्दै भत्किएको थियो । मुलुकमा हरेक वर्ष बन्ने पुलमध्ये करिब एक दर्जन निर्माणाधीन अवस्थामै भत्किने गरेको छ । 

यसको प्रमुख कारण कमिशन भागबण्डा रहेको बताइन्छ । ठेक्का लिन नेतादेखि सरकारी कर्मचारीलाई कमिसन बुझाइन्छ । कमिसनका कारण निर्माणमा कमसल, न्यून गुणस्तरको सामग्री प्रयोग गरिन्छ । जसले संरचना बन्न नपाउँदै भत्किने गरेको हो । 

सरकारी कर्मचारी, नेता–कार्यकर्ता र ठेकेदारबीचको मिलेमतोमा भौतिक पूर्वाधार निर्माणमा हुने अनियमितता र कमिशनले यस्ता घटना वर्षेनी दोहोरिरहेको छ । यसले मुलुकको पूर्वाधार विकास प्रणालीमै गम्भीर प्रश्नसमेत उठाएको छ । 

पुलजस्तो मानवीय जीवनसँग जोडिएको निकै संवेदनशील संरचना निर्माणमा यस्तो हेलचेक्याईं वा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले मुलुकका पूर्वाधारहरुको गुणस्तरमाथि शंका उब्जाएको छ । 

सँधै छानबिन समिति, कारबाही शून्य

हरेक वर्ष दर्जनौंको संख्यामा बन्दै गरेका वा निर्माण सम्पन्न भइसकेको पुल भत्किने गरेका छन् । सरकारले पुल भत्किएपिच्छे छानबिन समिति बनाउने गरेको छ । समितिले महिनौं दिन अनुसन्धान गरेर प्रतिवेदन तयार पारेर बुझाउँछ । तर, दोषीलाई कारबाही गरिँदैन । 

पुल भत्किएपछि तत्काल छानबिन समिति बनाउने सरकारी निकायले समितिको प्रतिवेदन कार्यान्वयनमा भने चासो देखाएको पाईंदैन । दोषी कर्मचारी र ठेकेदारलाई कारबाहीको साटो पुल भत्किनुमा प्राकृतिक विपत्तिलाई प्रमुख कारण देखाउँदै पन्छिने गरिएको छ । 

‘नीतिगत त्रुटि र भवितव्य’ : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणाधीन अवस्थामै पुल भत्किनुमा विभिन्न कारण हुने बताउँछन् । डिजाइन नमिल्दा, प्राविधिक तथा नीतिगत त्रुटि, काममा विज्ञको संलग्नता नहुनुजस्ता कारणले यस्ता घटना हुने गरेको उनको भनाइ छ । 

यद्यपि, निर्माण कार्यमा गुणस्तरको कमी हुँदा संरचना निर्माण नहुन नपाउँदै भत्किने तथ्यलाई उनी स्वीकार्छन् । महासचिव दाहालले भने, ‘कहिले काहीँ हाम्रा व्यवसायीकै कमीकमजोरीले पनि बनिरहेको संरचना भत्किन्छ । यसो हुनुमा गुणस्तरको कमी हो । तर, धेरैजसो डिजाइन नमिल्दा वा नीतिगत त्रुटिका कारण यस्ता घटना हुन पुग्छन् ।’

निर्माण व्यवसायीले काम गर्दा नराम्रो गर्छु भनेर नसोच्ने बताउँदै उनले थपे, ‘यस्ता घटना भवितव्य हुन् । किनकी कुनै पनि व्यवसायीले आफैंलाई नोक्सानी हुने काम गर्दैन । गुणस्तरहीन काम गरेर त्यो भत्किँदा व्यवसायीलाई नै घाटा हुन्छ । उसले आफ्नै लगानीमा फेरी बनाउनुपर्छ । अनि आफैंलाई हानी हुने काम व्यवसायीले किन गर्नु ?’ 

हेलचेक्राईं र गुणस्तर नहुनु प्रमुख कारणः विज्ञ 

पूर्वाधार विज्ञ आशिष गजुरेल ठेकेदारको हेलचेक्राईं र गुणस्तरहीन काम गरिँदा पुलहरु भासिने गरेको बताउँछन् । अर्कोतर्फ, हिउँदमा काम नगर्ने र वर्षा लागेपछि तात्ने प्रवृत्तिले समेत यस्ता घटना दोहोरिने गरेको उनको भनाइ छ । 

गजुरेलले भने, ‘वर्खायाममा बाढीपहिरो आउँछ भनेर सबैलाई थाहै छ । तर, हिउँदभरि हात बाँध्ने र बर्खा लागेपछि तात्ने प्रवृत्ति हामी कहाँ छ । त्यसमाथि निर्माण काम गर्दा लापरबाही र कम गुणस्तरका सामग्री प्रयोग गरिन्छ । जसले सामान्य बाढीपहिरो आउनेबित्तिकै पुल भत्किन्छ ।’

साथै, माटोको गुणस्तर परीक्षण नगर्नु, डिजाइन गलत हुनु, निर्माणपूर्व पर्याप्त अध्ययन र तयारी नगर्नाले पनि यस्ता घटना हुने गरेको उनको भनाइ छ ।

टिप्पणीहरू