रोनाल्डोलाई अल नासरले मालामाल बनाउँदै
साउदी अरबको प्रसिद्ध फुटबल क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोसँग नयाँ दुई वर्षे सम्झौता गरेको छ, जसको कुल मूल्य अमेरिकी डलर ६७६ मिलियन रहेको छ। यो रकम अन्य अतिरिक्त लाभहरूबाहेकको हो।
ब्रिटिस मिडियाका अनुसार, रोनाल्डोको नयाँ सम्झौता खेल इतिहासमै अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। उनी जनवरी २०२३ मा अल नासरसँग २०० मिलियन अमेरिकी डलर वार्षिक तलबमा अनुबन्ध भएका थिए। नयाँ सम्झौताले उनलाई प्रति दिन ६७०,००० डलर, प्रतिहप्ता ४.६७ मिलियन डलर र वार्षिक २४५ मिलियन डलरको आधार तलब दिनेछ।
यसबाहेक, रोनाल्डोलाई क्लबको १५ प्रतिशत स्वामित्व दिइएको छ, जसको मूल्य करिब ४५ मिलियन रहेको छ। यसबाट अल नासर क्लबको कुल मूल्य करिब ३०० मिलियन अनुमान गरिएको छ।
सम्झौता हस्ताक्षर गर्दा रोनाल्डोलाई ३४ मिलियनको साइनिङ बोनस दिइएको छ, जुन उनले सम्झौताका दुई वर्ष पुरा गरेमा ५२ मिलियन पुग्नेछ।
४० वर्षीय स्ट्राइकर रोनाल्डोलाई विभिन्न प्रदर्शनमा आधारित बोनस पनि दिइनेछ। उनले हरेक गोलका लागि ११०,००० डलर र हरेक असिस्टका लागि ५५,००० डलर प्राप्त गर्नेछन्, र सम्झौताको दोस्रो वर्षमा यी दुवै रकममा २० प्रतिशत वृद्धि हुनेछ। यदि अल नासरले साउदी प्रो लिग जित्यो भने रोनाल्डोलाई थप ११ मिलियन दिइनेछ। त्यसैगरी, उनी लिगको टप स्कोरर भएमा ५.५ मिलियन पाउनेछन्। यदि क्लबले एएफसी च्याम्पियन्स लिग इलीट जित्यो भने उनले ९ मिलियन थप कमाउनेछन् । यद्यपि सन् २०२५–२६ सिजनमा क्लबले एएफसी च्याम्पियन्स लिग टुमा प्रतिस्पर्धा गर्नेछ।
यसबाहेक, क्लबले रोनाल्डोको यात्राका सबै खर्च व्यहोर्नेछ, र ४.५ मिलियन मूल्यको निजी जेट पनि उपलब्ध गराउनेछ। साथै, क्लबले उनलाई एसियाली कम्पनीहरूसँग विज्ञापन सम्झौता गराउने वाचा गरेको छ, जसबाट रोनाल्डोले थप ८३ मिलियन कमाउन सक्छन्।
यो सम्पूर्ण सम्झौताबाट रोनाल्डोले कुल ६७६ मिलियनसम्म कमाउन सक्नेछन। यो रकममा उनको १६ जना स्थायी कर्मचारीहरू (३ ड्राइभर, ४ मेड, २ सेफ, ३ माली र ४ सुरक्षा गार्ड)को वार्षिक १.९ मिलियन खर्च समावेश गरिएको छैन।
अल नासर क्लब साउदी अरेबियन पब्लिक इन्भेस्टमेन्ट फन्डअन्तर्गत रहेको छ, जसले अल हिलाल, अल इत्तिहाद र अल अहलीजस्ता अन्य प्रमुख क्लबहरू पनि नियन्त्रण गर्छ। रिचर्सका अनुसार, पिआइएफको कुल सम्पत्ति ९०० अर्ब डलरभन्दा बढी छ।पिआइएफ र क्लब व्यवस्थापनले रोनाल्डोको सम्झौता समाप्त भएपछि उनी साउदी अरब छोड्न सक्ने चिन्ता व्यक्त गरेका छन्। त्यसैले क्लबले उनलाई रोक्न व्यापक लगानी गरेको हो।
अल नासरले जुन २६ मा रोनाल्डोको नयाँ सम्झौता आधिकारिक रूपमा घोषणा गरेको थियो, ठीक त्यसको अघिल्लो दिन क्लबले प्रशिक्षक स्टेफानो पिओलीसँगको सम्झौता समाप्त गरेको थियो। केही हप्ताअघि क्लबले सिइओ माजेद अलजमाँनलाई पनि बर्खास्त गरेको थियो। फुटबल निर्देशक फर्नान्डो हियेरोको भविष्य अझै अनिश्चित छ।
टिप्पणीहरू