व्यापारीहरुका प्रतिनिधि फिर्ता, राष्ट्र बैंकका हाकिम हेरेको हेर्यै
नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका उद्योग वाणिज्य महासंघका प्रतिनिधि फिर्ता भएका छन् । बिचौलिया दिपक भट्टको दबाबपछि महासंघका अधिकारीहरुले गोकर्ण अवस्थीलाई फिर्ता बोलाएको बताइन्छ । महासंघ सचिवालयमा महानिर्देशक रहेका अवस्थीको फिर्ताबारे परस्परविरोधी भनाइ बाहिरिएको छ ।
आफ्नो लगानी रहेको नयाँ स्टक एक्सचेञ्ज सञ्चालन अनुमति लिने र सरकारी स्टक एक्चेञ्जलाई डुबाउने योजनामा रहेका भट्ट जतिसक्दो छिटो काम फत्ते गर्न तल्लिन देखिन्छन् । बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उनैको रोडम्यापअनुसार नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स दिने विवादित प्रक्रियालाई पनि पछिल्लो समय अचम्मसँग तीव्रता दिएका छन् ।
नयाँ स्टक एक्सचेञ्जका लागि तीन वटा व्यापारिक घरानाले आवेदन दिइसकेका छन् । हिमालयन,नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जमध्ये यसअघि सेटिङमा नियुक्त भएका बोर्ड अध्यक्ष श्रेष्ठ कुनै हालतमा भट्टको धेरै लगानी रहेको हिमालयनलाई लाइसेन्स दिन तल्लिन छन् । उनको चाहनामा सामान्य असहमति राख्ने सञ्चालक समिति सदस्यलाई भट्टको पहलमा तान्ने र फाल्ने क्रम जारी छ ।
नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने एजेण्डासहित गत जेठ २२ गतेको बोर्ड बैठकमा सदस्यहरुबीच केहीबेर गलफत्ती नै परेको बताइन्छ । यता,राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्न थालेका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले भने भट्टको चाहना र श्रेष्ठको बोलीमा लोली मिलाएपछि सञ्चालक समितिमा कुरो मिल्न थालेको स्रोतको दाबी छ ।
करिब ३ घण्टाको बैठकमा अरुले लाजै छोप्नका लागि केही कारण देखाए पनि नेपाल भने गजधम्म बसेका थिए । यसअघि उनै श्रेष्ठको जोडबलमा ट्रेड टावरलाई आईपिओ निष्कासनको अनुमति दिइएको थियो । ट्रेड टावरले जग्गा भाडामा लिएर होटल बनाउने भन्दै आईपिओ निश्कासन गरिसकेको छ ।
धितोपत्र बोर्डको नेतृत्वले बिना कमिसन आईपिओ निश्कासन अनुमति नदिने गरेको आरोप ऊर्जा र जलविद्युत कम्पनीका प्रवर्धकहरुले लगाउँदै आएका छन् । त्यस्ता कम्पनीको आईपिओ निश्कासनको क्रममा श्रेष्ठको निर्देशनमा उनको समूहले ५ र ७ प्रतिशत कमिसन माग्ने गरेको फोनवार्ता बाहिरिएको छ । सोही विषय छानबिनका लागि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
टिप्पणीहरू