"बहिनी"लाई रिझाउन बाहिनीमा नाचघर

कांग्रेस सभापतिका प्रमुख स्वकीय भानु देउवाका बहिनी ज्वाईंलाई रिझाउन लुम्बिनीको प्रदेश बजेट दुरुपयोग भएको छ । परराष्ट्र मन्त्री आरजू देउवाको जोड बलमा लुम्बिनीको मन्त्री बन्न सफल प्यूठानका रोज राणा भनेर चिनिने शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले देउवाका ज्वाईं तथा लुम्बिनीका सशस्त्र प्रहरी डिआइजी दिपेन्द्र कुँवरलाई रिझाउन प्रदेश बजेट बाँडेका हुन् । आ.व.२०८२/८३ को बजेट विनियोजनका क्रममा खानेपानी तथा शहरी विकास मन्त्रालयले चन्द्रौटास्थित विन्ध्यबासिनी मुख्यालयलाई ३ करोड ६५ लाख रकम उपलब्ध गराएको छ । मन्त्री थापाले डिआइजी कुँवरलाई सार्वजनिक कार्यक्रमहरुमा ज्वाईं नै भन्ने गरेका छन् ।
मन्त्रालयको बजेट बनाउने क्रममा लमहीस्थित लुम्बिनी ग्रिन रिसोर्टमा गोप्य बसाइ बसेका थापाले डिआइजी कुँवरको मागबमोजिम योजनाहरु समावेश गरेका थिए । थापाले बाहिनी मनोरन्जन कक्ष बनाउन ४० लाख, खानेपानीका लागि ३५ लाख, मुख्यालयमा मल्टीप्रपोज हल बनाउन ७५ लाख,कार्यालय भवन मर्मत संभार गर्न २० लाख, गेट बनाउन १० लाख, अप्रेशन हल बनाउन ९० लाख, बाहिनीभित्र सडक बनाउन ५० लाख, शौचालय बनाउन २० लाख, जिन्सी सामाग्री कक्ष बनाउन १५ लाख तथा अन्य खर्चका लागि बजेट विनियोजन गराएका छन् ।
यति मात्र नभई मन्त्री थापाकै आग्रहमा आन्तरिक मामिला मन्त्रालयबाट समेत बाहिनीमा बजेट विनियोजन गराइएको छ । प्रदेशबाट बाहिनीमा परेका योजना हेर्दा हाल त्यहाँ केही पनि नरहेको र सबै योजना प्रदेशले हालेर मात्र मुख्यालय बन्ने अवस्था देखिएको कपिलवस्तुका प्रदेश सांसद जानकी यादव बताउँछन् । सबै प्रदेशले गरिदिने हो भने संघले के गर्छ ? "यो चाकडी गर्नका लागि हालेको बजेट हो, हामी विरोधमा छौँ” उनले भने । प्रदेशका सुविधा सम्पन्न मुख्यालयभित्र पर्ने सशस्त्र प्रहरीको विन्ध्यबासिनीमा करोडौँ बजेट पर्दै गर्दा संघीयताको मर्म राख्दै दाङको तुलसीपुरस्थित नेपाल प्रहरीको प्रदेश कार्यालयलाई १ रुपैयाँ पनि दिइएको छैन । देउवाकै आशिर्वादले भागवण्डामा छलाङ मार्दै डिआइजी बनेका कुँवर ३ महिनाअघि मात्र कार्यकाल नै नसकिएका प्रदिप पाललाई सुदूरपश्चिम लखेटेर यहाँ आएका थिए ।
उनी मातहतका १२ जिल्लामा रहेको सशस्त्र बिओपी तथा पोष्टहरुको अवस्था निकै दयनीय छ । कतिपय अस्थायी टहरामा छन् । बर्षायाममा छत चुहिन्छ,मेस तथा ब्यारेक कच्ची छन् । जवानहरुलाई शुद्ध पिउने पानी र सुत्ने पक्की भवनसमेत छैन । प्रभाव र पहुँच हुँदा डिआइजी कुँवरले ती क्षेत्रमा बजेट माग गर्नुभन्दा बाहिनीमा नाच घर बनाउनका लागि ४० लाख रकम हाल्न जोडबल लगाए ।
चार दिनअघि विवादित बजेट पास गर्नकै लागि सत्तापक्ष लोसपालाई एउटै वैठकमा प्रतिपक्ष बनाएर बजेट पास गरेको लुम्बिनी प्रदेशको बजेटको चौतर्फी आलोचना रोकिएको छैन । प्रतिपक्ष मात्र होइन सत्तापक्षकै सांसदहरुले समेत बजेटको खुलेरै विरोध जारी राखेका छन् । खानेपानी मन्त्री सरोज थापाको आफूले प्यूठानमा २ अर्ब ५५ करोड बजेट प्रदेशबाट हालेको दावीलाई त्यहीँबाट निर्वाचित संघीय सांसद सूर्य थापाले “गोयबल्सहरुको प्यूठान झुठ उदांगो भयो” भन्दै सामाजिक सन्जालमा विरोध गरेका छन् ।
बजेटमा मनपरी गरेका खानेपानी मन्त्री सरोज थापाले कपिलवस्तुको शिवराज ५ स्थित आफ्नो निजी जग्गामा १ करोड बजेट र लुम्बिनी ग्रीन रिसोर्टका सन्चालक इश्वरी पाण्डेसंग मिलेर खेतमा ७० लाख बजेट हाली विवादमा आएका छन् । उनले बजेट निर्माणकै क्रममा अर्थ मन्त्री तथा अन्य मन्त्रीहरुलाई भने अनुसारको बजेट नहाले गोली हान्ने धम्कीसमेत दिएको विषय सार्वजनिक भएको थियो ।
टिप्पणीहरू