यसकारण रोकियो नाउपा मन्त्रीको राजीनामा

यसकारण रोकियो नाउपा मन्त्रीको राजीनामा

सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आफ्नो मन्त्रीलाई राजीनामा तयार पार्न लगाएको नागरिक उन्मक्ति पार्टी (नाउपा)मा अन्यौलता छाएको छ । पार्टी संरक्षक रेशमलाल चौधरीले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि समर्थन फिर्ता लिने निर्णय अन्यौलमा परेको हो । 

बताइएअनुसार प्रधानमन्त्री ओलीलाई भेट्न चौधरी बालुवाटार पुगेका थिए । त्यहाँ करिब एक घण्टा ‘वान टु वान’ वार्ता भएको बताइएको छ । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले चौधरीलाई समर्थन फिर्ता लिने निर्णयबाट पछि हट्न आग्रह गर्दै संवादबाट समाधान निकाल्न सकिने बताउनुभएको थियो । उहाँले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमतिको वातावरण बनाउनुपर्ने बताउनुभएको हो । 

कांग्रेसको कोटाबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका कमलबहादर शाहले बिहीबार मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको छ । संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको सहमतिमा नाउपाले शनिबार प्रतिपक्षमा बस्ने निर्णय गर्दै संघीय सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुण चौधरीलाई समेत राजीनामाको लागि तयार रहन भनेको थियो । 

मन्त्री चौधरीले पनि हिजो राजीनामा तयार भइसकेको र पार्टी नेतृत्वको निर्देशन आउनबित्तिकै प्रधानमन्त्रीलाई बुझाउने बताएका थिए । तर उनले अहिलेसम्म राजीनामा भने बुझाइसकेका छैनन् । 

संरक्षक चौधरीले प्रधानमन्त्रीलाई भेटेपछि नाउपाले निर्णय परिवर्तन गर्न सक्ने कतिपयको अनुमान छ । आजै कांग्रेस सभापति देउवालाई समेत भेटेर चौधरीले ठोस निर्णय लिने बताइएको छ ।

टिप्पणीहरू