इञ्जिन मर्मतमा कुनै चलखेल छैन : वायुसेवा निगम
नेपाल वायुसेवा निगमले वाइडबडी विमानको इन्जिन मर्मतको टेण्डर प्रक्रियामा कुनै चलखेल नभएको बताएको छ । टेण्डर प्रक्रिया नै शुरु नगरी दुईटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि एक विदेशी कम्पनीसँग गोप्य सम्झौता गरेको भन्दै प्रकाशित समाचारप्रति निगमले उक्त दाबी गरेको छ ।
निगमका अनुसार इञ्जिन मर्मतसम्बन्धी उक्त समाचारमा कुनै सत्यता छैन । दुईटा वाइडबडीको चार वटै इन्जिन निकट भविष्यमा मर्मत सम्भार गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान विभाग निर्देशक महेशकुमार मरिताको संयोजकत्वमा गत फागुनमा एक उपसमिति बनाएको र उपसमितिले त्यससम्बन्धी गृहकार्य गरिरहेको बताइएको छ ।
वाइडबडी विमानको इञ्जिन निर्माता कम्पनी रोल्स रोई भएकाले उपसमितिको नेतृत्वमा निगम टोली गत अप्रिलमा सिंगापुर गएको थियो । सोही सन्दर्भमा निगमले भनेको छ, ‘इञ्जिन मर्मत कार्यमा ठूलो धनराशीको लगानी आवश्यक हुने हुँदा अनुभव संकलन तथा प्राविधिक पक्षहरुको जानकारीका लागि समेत निर्माता कम्पनीसँग सरसल्लाह गरी परिपक्व निर्णय लिएर टेण्डर प्रक्रियामा जान सहज हुने निक्र्यौल निकालिएकाले मिति २९ अप्रिल, २०२५ मा रोल्स रोई सिंगापुरसँग विधिवत् रुपमा छलफल गर्न निगमको टोली सिंगापुर गएको हो ।’
त्यहाँबाट फर्किएपछि आवश्यक अध्ययन पश्चात् विमानमा लिजसहितको इञ्जिन मर्मत सम्भारका निम्ति उपमितिले टेण्डरको निम्ति आवश्यक सामाग्री तयार गरेर प्रकाशनको अन्तिम चरणमा पुगेको निगमले प्रष्ट पारेको छ । यस्तो अवस्थामा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै निगमले खेद व्यक्त गरेको हो ।
‘रोल्स रोईसँग पारदर्शी रुपमा प्राविधिक पक्षको जानकारी लिने कार्य क्यान विभागको जिम्मेवारी पदाधिकारी निमित्त निर्देशकसमेतको सहभागितामा भएको बैठकको सामान्य व्यवसायिक विषयलाई निगमको साख बिगार्ने नियतसाथ भएको कपोलकल्पित समाचार छपाउने कार्य खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वायुसेवा निगमको आर्थिक विनियामवली, २०६५ को विनियम २१८ मा ‘निगमले इन्जिनको मर्मत कार्य गर्दा ओईएमलाई प्राथमिकतामा राखी गर्नुपर्नेछ’ भन्ने प्रावधान भएतापनि ठूलो लगानीको मर्मत सम्भार कार्य निगमले पारदर्शीता एवम् स्वच्छ प्रतिस्पर्धा कायम राख्नकै लागि इञ्जिन मर्मत सम्भार तथा लिजमा लिन टेण्डर प्रक्रियाको लागि काम भइरहेको जानकारी गराइन्छ ।’
साथै, सञ्चारमाध्यमको व्यावसायिक धर्म र मान्यताविरुद्ध हुने तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण नगर्न नगराउनसमेत निगमले सम्बन्धित सबैसँग अनुरोध गरेको छ ।


टिप्पणीहरू