कीर्तिपुरमा पुष्पलालको सालिक लजाउँदै

कीर्तिपुरमा पुष्पलालको सालिक लजाउँदै

त्रिभुवन विश्वविद्यालयसँग जोडिएर कीर्तिपुर चिनिन्छ । बाघभैरव मन्दिर र टौदहले पनि कीर्तिपुरको चिनारी दिन्छ । त्यही चिनारीको लहरमा थपिएको छ– वडा नं ४ मा अवस्थित पुष्पलाल पार्क । वामपन्थी नेता मन्त्री भए भने कीर्तिपुरस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्न नआउने बिरलै होलान् ।

डाँडामा ठिङ्ग उभिएको पुष्पलालको सालिकले कीर्तिपुरलाई पर्यटकीय नगरी पनि बनाएको छ । केही समयअघि यही ठाउँमा केबुलकारको चर्चा भयो । कीर्तिपुरमा लाग्ने घाम, पुष्पलालको सालिकबाट नै चुहिएर झर्ने हो पनि भन्न सकिन्छ । विडम्वना, यस्तो ठाउँमा नेकपा एमालेलाई सूर्यको घाम नलागेको आठ वर्ष भयो । पुष्पलालकै सालिक उभिएकै वडामा, ७४ मा पराजय, ७९ मा पराजय र ८१ मा पनि पराजयकै ह्याट्रिक भयो । यो अवस्था देख्दा अचेल पुष्पलालको सालिक कति लजाउँदै होला ! 

पुष्पलाल जयन्ती र स्मृति दिवसको बेला नेकपा एमालेको बाकसमा खसेको भोट गन्ने हो भने त्यत्तिकै निरीह देखिन्छ । कहाँ गए त्यसरी मेला भर्नेहरू ? कहाँ गए यहाँको डस्टबिनमा चियाको गिलास भरिभराउ छाडेर जानेहरू ? 
लेकैमा घाम नलागेपछि बेँसी ओस्सिनु स्वाभाविकै हो । कीर्तिपुरजस्तो नेकपा एमाले साह्रै बलियो भएको थलोमा, ७९ को चुनावमा, निर्विरोध एक दलित महिला सदस्यबाहेक, दशै वडाबाट एमालेका एक जना पनि निर्वाचित भएनन् । ०८१ को उपनिर्वाचनमा पनि शून्य नै हात लाग्यो । ०८४ मा पनि शून्य उपलब्धि अँगाल्दै पुष्पलालको सालिकलाई गिज्याउँदै बस्ने हो ?

निर्वाचनको इतिहास केलाउने हो भने यहाँ वामपन्थीहरू कहिल्यै कमजोर भएनन् । मदन भण्डारीलाई यहीँकै जनताले निर्वाचित गरे । ०५४ र ०७४ को निर्वाचनमा मेयर, उपमेयरलगायत कैयन पद एमालेका जनप्रतिनिधिले भरिए । त्यसबेलाका मतदाता उनै हुन् । नेतृत्व उही हो तर आज नेकपा एमालेलाई जनताको छिछि र दुर्दुर् किन ? किन बाउको मताधिकार विरासतका रूपमा छोरातिर जान सकेन ? 

आज पनि कीर्तिपुरका पार्टीगत कार्यक्रममा कार्यकर्ताहरूको बाक्लो उपस्थिति हुन्छ । तर, सबैको ओंठमा आफ्नै सुस्केराको तिक्तता छ । मञ्च उही हुन्छ, मञ्चमा तिनै पात्र बस्छन्, फूलमाला त्यही, भाषण त्यही, चुनाव र परिणाम पनि त्यही दोहोरिन थालेको छ । दुई पटक पराजय भएपछि म जनताबाट अस्वीकृत भैसकेँँ भनेर नैतिकतामा पर सरे भै गयो त ! पाँच, छ पटक एउटै व्यक्ति उम्मेदवार भइराख्ने दृष्टान्त, कीर्तिपुर एमालेमै पाइन्छ । 

हालै यहाँ पार्टी केन्द्रीय सदस्यले कांग्रेसका नगर सभापतिसँग स्थानीय चुनावमा लज्जास्पद हार ब्यहोर्नुप¥यो । कुनै समय प्रतिनिधि सभाको चुनावमा, पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्षको भन्दा बढी मत ल्याएका नेता आज स्थानीय तहमा तेस्रो भए । प्रष्ट छ यो अन्तर्घातको नतिजा हो । कारबाही कसलाई गर्ने ? अन्तर्घात पनि क्रिया, प्रतिक्रियाको रूपमा तन्किँदै गएको छ । कारवाही नै गर्दा सबै पर्ने भएकोले कसैले कसैलाई छुन सकेन । जसको फाइदा प्रत्यक्ष रूपमा कांग्रेसलाई भयो। 

एमाले पहिले जुट्ने चुनावमा फुट्ने, कांग्रेस पहिला फुट्ने चुनावमा जुट्ने भयो । कीर्तिपुर एमालेमा नेता धेरै, कार्यकर्ता थोरै भए भने कांग्रेसभित्र नेता थोरै, कार्यकर्ता धेरै रहे । नेकपा एमालेका नेताको बोली केवल अनुरोध भयो भने कांग्रेसमा नेताको बोली निर्देशन भयो । कांग्रेसमा कारवाही हुन सक्ने, एमालेभित्र कारवाही नै नहुने भएपछि हार्नु स्वाभाविक हो । प्रष्ट रूपमा भन्दा कीर्तिपुरमा कांग्रेसको अभिभावक छ, हाम्रो छैन । 

नेताहरू धेरै भएपछि एकअर्कासँग बाझेर नै सखाप हुने हुन् । यस्तो पात्र सिर्जना गर्नुप¥यो, जो कारवाही भोग्न र कारवाही गर्न सक्ने दुबै पक्षको लागि स्वीकार्य होस् । यसरी अगाडि बढ्ने हो भने अहिलेको हारलाई पनि हरित बनाउन सकिन्छ । दुई पटकको हार, युवा नेतृत्व विकास गर्ने अवसर हो । मञ्च कब्जा गरिरहने पात्रहरू फेर्ने अवसर हो । 
 

टिप्पणीहरू