विनोद चौधरीले अन्तर्घातीको आरोप लगाएका काँग्रेस महामन्त्री निस्कासित
नेपाली काँग्रेस लुम्बिधी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निस्कासन गरिएको छ । केन्द्रीय अनुशासन समितिले उनलाई एक वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको जनाइएको छ ।
२०७९ को संघीय तथा प्रादेशिक निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार देवेन्द्रराज कँडेललाई पराजित गर्न भूमिका खेलेको भन्दै गत वर्ष खनालविरुद्ध अनुशासन समितिमा उजुरी परेको थियो । समिति संयोजक आनन्दप्रसाद ढुंगानाले स्पष्टीकरण सोधेकोमा उनले चित्तबुझ्दो जवाफ नदिएको बताइएको छ ।
खनालका कारण काँग्रेस उम्मेदवारले जित्नुपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले जितेको काँग्रेसको ठहर छ । अनुशासन समितिका संयोजक ढुंगानाले खनाललाई निस्काशन गरिएको व्यहोराको पत्र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पनि पठाइसकेका छन् ।
पत्रमा भनिएको छ, ‘...विक्रम खनालले प्रदेश सभा र प्रनितिधि सभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई असहयोग गरेको भनी परेको उजुरीमा केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहितं) धारा ३४ को उपधार १ (क), (ख) र (घ) र उपधारा ८ बमोजिम निजलाई एक वर्षको लागि सदस्यताबाट निस्कासन गर्ने निर्णय भएको व्यहोरो जानकारी गराइन्छ ।’
काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सांसद तथा व्यापारी विनोद चौधरीले खनाललाई अन्तर्घातीको आरोप लगाएका थिए । आफूविरुद्ध हृदयेश त्रिपाठीलाई जिताउन खनालसहितले भूमिका खेलेको उनको दाबी थियो ।
टिप्पणीहरू