एमाले युवाको 'नोटिस'मा को को ?
नेकपा (एमाले)को आगामी नेतृत्वबारे बहस नगर्नू/नगराउनू भन्ने नेतृत्वपंक्तिको निर्देशनपछि युवा नेताहरुले चर्को आक्रोश पोख्न थालेका छन् । पार्टीलाई सिमित व्यक्तिले मात्रै कब्जा गर्दै आएको र त्यो सह्य नहुने भन्दै कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका हुन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनपछि एमालेको आगामी नेतृत्वबारे पार्टीपंक्तिमा मत विभाजन देखिरहेको बेला हिजो च्यासलमा जनवर्गीय संगठनका इञ्चार्ज र पदाधिकारीहरुको विस्तारित भेला आयोजना गरिएको थियो । उक्त भेलालाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले ‘नेतृत्वको बहस आवश्यक नै नरहेको’ बताउँदा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बहसमा उत्रिनेहरुलाई पार्टीले ‘नोटिस’ गरेको बताए । ढकालले भनेका थिए, ‘नेतृत्वलाई अप्ठ्यारो पार्नेगरी बोल्नेहरुबारे विचार गरिदैँछ, नोटिसमा राखिएकाे छ।’
जनवर्गीय संगठनका इञ्चार्ज समेत रहेका ढकालले यसरी नेतृत्वविरुद्ध बोल्नेहरुलाई ‘नोटिस’ गरिएको बताएपछि यतिबेला भने युवाहरुले पनि ‘तपाईलाई पनि नोटिसमा लिएका छौँ’ भन्दै काउण्टर जवाफ फर्काउन थालेका छन् ।
राष्ट्रिय युवा संघका निवर्तमान महासचिव सुमन पुरीले ढकाललाई ‘पेटी ठेकेदार’को संज्ञा दिदै कार्यकर्ताले पनि नोटिस गरिरहेकाे बताएका छन् । ‘पेटी ठेकेदारज्यू, पार्टी तपाईंको बिर्ता हैन, तपाईंले भन्यो भन्दैमा संस्थागत हुँदैन’, उनले भनेका छन्, ‘अत्ति नगर, अब हामीले पनि नोटिस गर्न थालेका छौं, त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहदैन, हेक्का राख !’
त्यस्तै, अनेरास्ववियुका निवर्तमान सचिव प्रकाश पौडेलले पनि नेतृत्वको बहस नगर्न निर्देशन दिने नेताहरुलाई ‘चियाको कपबाट तुफान नचलाउन’ सुझाव दिएका छन् । ‘पार्टी नोटिसमा होइन, चरम आक्रमणमा थियो, धेरैका पाइला कता चल्ने भन्ने दोधारमा थिए, त्यसै बेला मैदानमा उभिएर हामीले बल पैदा गरेका थियौं’, उनले भनेका छन्, ‘चियाको कपमा तुफान चलाउन बन्द गर्नुस्, हामी यही भन्दै मैदानमा झरेका हौं, जनताको प्रिय एमाले बनाउने अभियानमा हामी निरन्तर छौं, कसैले कुनै शक्तिले पनि हामीलाई रोक्न सक्दैन।’
अन्य युवा नेताहरुले पनि नेतृत्वपंक्ति माथि चर्को आक्रोश पोखेको देखिन्छ । मेनुका ढुंगानाले लेखेकी छन्, ‘फटाहा पेटीगाठे ठगहरूको हैसियत अब देखिन्छ, एमालेको रातो झण्डाको खोल ओढेर पार्टी भित्रै आतंक मच्चाउने पेटी ठेकेदारहरूलाई पार्टी कार्यलयबाट बाहिर निकाल्लुपर्छ ।’
टिप्पणीहरू