पहाड र हिमालमा पनि विषालु सर्पको बिगबिगी

पहाड र हिमालमा पनि विषालु सर्पको बिगबिगी

तापक्रम बढेसँगै तुलनात्मक रुपमा चिसो भूभाग काठमाडौं उपत्यकामा विषालु सर्प सल्बलाउन थालेका छन् । उपत्यकामा सर्पको बिगबिगी देखिएको छ । मनसुन सक्रिय भएर गर्मी बढेको अवस्थामा उपत्यकामा विषालु सर्प देखा परेका हुन् । पहिले तराई–मधेश भेगमा मात्र विषालु सर्प पाइन्थ्यो । 

त्यहाँ गर्मीयाममा मान्छे र सर्पबीच द्वन्द्व चल्थ्यो । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा बढ्दो गर्मीसँगै तराईमा मात्र पाइने विषालु सर्पसमेत पहाड उक्लिरहेका छन् । अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा किङ्ग कोब्रासहित तराईमा मात्र पाइने विभिन्न प्रजातिका विषालु सर्प देखिएका छन् । 

सर्प देखा पर्ने क्रम बढेसँगै नगर प्रहरीहरुलाई उद्धार गर्न भ्याईनभ्याई भएको छ । केही दिनअघि काठमाडौं महानगरपालिका–१६, खरिबोट बोहोराटारस्थित एक घरको कम्पाउण्डमा सर्प देखियो । घरधनीको फोनलगत्तै खटिएको महानगर प्रहरी बलको टोलीले उक्त सर्पको उद्धार गरेको थियो । 

त्यसअघि असार दोस्रो सातामा वडा नम्बर १४, एड्भान्स इन्जिनियरिङ्ग कलेजपारि घरको कम्पाण्डमा पनि सर्प देखिएपछि नगर प्रहरीले उद्धार गरेको थियो । असार पहिलो साता चन्द्रागिरी नगरपालिका–१३, स्थित कङ्काली माध्यमिक विद्यालयको शौचालय कमोडभित्रै कोब्रा फेला परेपछि समुदाय आतंकित बनेको थियो ।

उक्त कोब्रा उद्धार गरिएको भोलिपल्ट दक्षिणकाली नगरपालिका–७, स्थित एक घरको पिंढीमा किङ्ग कोब्रा भेटिएको थियो । जेठ पहिलो साता ललितपुरको हरिसिद्धि र हात्तीवनमा घरको कोठाभित्रै सर्प पस्यो । लगत्तै नगर प्रहरी त्यहाँ पुगेर सर्पको उद्धार गर्यो । 

त्यसअघि खुमलटारमा पार्किङ गरेर राखिएको स्कुटीभित्र सर्प पसेको थियो । स्कुटीको डिकीमा बसेको अवस्थामा नगर प्रहरीले उक्त सर्पको उद्धार गरेको थियो । गर्मी तथा बर्खायाममा जमिनको सतहमै सर्प देखिन्छ । विशेषगरी तराई–मधेशका जिल्लामा सर्पको बिगबिगी हुने गर्छ ।

तराईमा पाइने करेत, गोमन, बाघे र रसेल भाइपर प्रजातिका सर्प निकै विषालु मानिन्छन् । यी सर्पले टोकेपछि तत्काल उपचार हुन नसके पक्षघात वा ज्यानै जानसक्ने चित्किसकहरु बताउँछन् । यद्यपि, पछिल्लो समय उपत्यकामा पनि यी प्रजातिका सर्प देखा पर्ने र यसको टोकाईबाट बिरामी हुने बढिरहेका छन् ।

विगतमा उपत्यकामा सामान्यतया सर्प देखिँदैन्थ्यो । तराईमा जस्तो यहाँ सर्प नहुने आम धारणा भएपनि अहिले उपत्यकामा सर्पको आंतकजस्तो भइरहेको छ । जसले जनस्वास्थ्यमा खतरा बढेको छ । 

पहाडमा सर्पदंशका बिरामी बढ्दै

गर्मी बढेसँगै तराई र पहाडी जिल्लाहरुमा पनि सर्प छ्यापछ्याप्ती हुन थालेका छन् । योसँगै सर्पदंशका बिरामीसमेत बढिरहेका छन् । काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल अस्पतालसहित उपत्यकाका सर्पदंशका बिरामी दिनहुँ बढ्दो क्रममा भेटिन्छन् । 

सर्पले डसेर दैनिक दर्जनौंको संख्यामा बिरामीहरु अस्पताल भर्ना हुन थालेको पाइन्छ । पछिल्लो केही महिनामा सर्पको टोकाईबाट दुई जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि असार २५ गतेसम्म सर्पदंशका २२ वटा घटना भएका छन् । 

जसमा दुई जनाको मृत्यु हुँदा २२ जना भने घाइते भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार मुलुकमा वर्षेनी सरदर डेढ सय जनाको सर्पदंशबाट निधन हुने गरेको छ । गत वर्ष सर्पको टोकाईबाट एक सय ४६ जनाको मृत्यु भएको मन्त्रालयसँग तथ्याङ्क छ ।

जनस्वास्थ्यमा चूनौतीः चिकित्सक

काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन विगतको तुलनामा यो वर्ष उपत्यकामा सर्प बढी देखिएको बताउँछन् । सर्पदंशका बिरामीसमेत बढिरहेको जानकारी दिँदै उनले उपत्यकामै कोब्रा, करेतजस्ता विषालु सर्प देखिनु निकै खतरनाक भएको बताए । 

पुनले भने, ‘तराईमा वर्षेनी कोब्रा, करेतजस्ता विषालु सर्पको टोकाइबाट दर्जनौंको मुत्यु हुने गरेको छ । अहिले उपत्यकालगायत पहाडी भेगमा देखिएजसरी विषालु सर्प बढ्दै गएमा यहाँ मृत्युदर बढी नहोला भन्न सकिँदैन ।’ उपत्यकामा सर्प बढेकोमा उनले तराईबाट आएको हो कि यही थियो ? भनेर सरकारी पक्षले अनुसन्धान गर्नुपर्नेमा जोड दिए । 

‘उपत्यकामै सर्पको बिगबिगी भएपछि तराईबाट आएको हो कि काठमाडौंमै थियो ? भनेर प्रश्न उठेको छ । कतिपय चाँहि तराईबाट ल्याइने काठलगायत सामानसँगै सर्प पनि काठमाडौं आएको बताउँछन् । यसमा सरकारले अनुसन्धान गर्नुपर्छ । अर्कोकुरा, सर्प जहाँबाट भएपनि उपत्यकामा आइसकेको छ । जलवायु परिवर्तनका कारण विषालु सर्पले समेत काठमाडौंको वातावानुकूलमा आफूलाई ढाल्दै गएको देखिन्छ । यसले जनस्वास्थ्यमा चूनौती थपिएको छ ।,’ पुनले भने । 

विगतमा तराईमा मात्र सीमित कालाज्वरो, मलेरिया, डेंगु, चिकुनगुनियाजस्ता किन्टजन्य रोग पहाड हुँदै हिमाली भेगसम्म पुगिसकेको बताउँदै उनले थपे, ‘अहिले पहाड उक्लिएको सर्प भोलि हिमाली भेगमा नजाला भन्न सकिँदैन । त्यसकारण अब सरोकारवाला निकायले यसबारे सोच्न र आवश्यक तयारी गर्नुपर्ने बेला भइसक्यो ।’

पहाडपछि हिमालमा समेत विषालु सर्प उक्लिने खतरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले तराईका विषालु सर्प पहाड उक्लिएको पुष्टि भएको जानकारी दिए । उपत्यकासहित पहाडी भेगमा सर्पले टोकी उपचार गराउन आएका बिरामीका आधारमा यहाँ तराईका विषालु सर्प उक्लिएको पत्ता लागेको उनको भनाइ छ । 

उनका अनुसार तराईका गोमन, करेत, बाघेजस्ता विषालु सर्प पहाड चढ्न थालेका छन् । प्रवक्ता बुढाथोकीले भने, ‘उपत्यकासहित पहाडी जिल्लामा सर्पले डसेर उपचार गर्न आएका अधिकांश बिरामीलाई गोमन, करेतजस्ता विषालु सर्पले टोकेको पाइएको हो ।’

उनले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीसँगै तराईका विषालु सर्प पहाडी भेगमा उक्लिएको दाबी गरे । यही क्रम चलिरहेमा हिमाली भेगमा समेत विषालु सर्प उक्लिनसक्ने बुढाथोकीको ठहर छ । 

भने, ‘जलवायु परिवर्तनका कारण तापक्रम दिनानुदिन बढिरहेको छ । हिमालका हिउँ पग्लिरहेका छन् । यसरी नै तापक्रम बढिरहने र हिउँ पग्लिरहने हो भने हिमाली भेगमा समेत विषालु सर्प फैलिन सक्छन् ।’

पहाडमा समेत विषालु सर्प बढेसँगै मन्त्रालयले सचेतना फैलाउने, सर्पदंश उपचार केन्द्रलाई सक्रिय अवस्थामा रहन निर्देशन दिएको र अन्य आवश्यक काम पनि गरिरहेको उनले जानकारी दिए । साथै, आम सर्वसाधारणलाई पनि सतर्कता अपनाउन र सर्पले टोकेमा धामीझाँक्री कहाँ नगई अस्पताल जान अनुरोध गरे ।

टिप्पणीहरू