एउटी पुरस्कृत हुँदा अर्की अभिनेत्री दुःखी

एउटी पुरस्कृत हुँदा अर्की अभिनेत्री दुःखी

चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिनेत्रीको अवार्ड उपासना ठकुरीले जितेकी छन् । उनले चलचित्र ‘खुस्मा’बाट सो पुरस्कार प्राप्त गरेकी हुन् । 

उत्कृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुर सांरगी’को लागि विजय बराललाई दिइएको छ । त्यस्तै, ‘शाम्बाला’ वर्षको उत्कृष्ट चलचित्र घोषणा हुँदा मीनबहादुर भाम उत्कृष्ट निर्देशक बने । उत्कृष्ट पटकथाको लागि ‘छक्कापञ्जा ५’ बाट दिपकराज गिरी र उत्कृष्ट छायाँकनको लागि ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधानलाई पुरस्कार प्रदान गरिएको छ । बोर्डले आज शीतल निवासमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो । 

अभिनेता प्रदीप खड्कालाई पनि ‘पुजार सार्की’को लागि प्रोत्साहन पुरस्कार र निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान पुरस्कार प्रदान गरिएको छ । दीर्घ साधनाको राशी तीन लाख ७५ हजार नगद छ । 

उता अभिनेत्री वर्षा शिवाकोटीले पुरस्कारका लागि बोर्डले पुरुष कलाकारलाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएकी छन् । पुरस्कृत हुने कलाकारको नाम सार्वजनिक भएलगत्तै उनले समाजिक सञ्जालमा बोर्ड अध्यक्ष दिनेश डिसीलाई ट्याग गर्दै लेखेकी छन्, ‘लौ नायकज्यूहरुलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकारलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामिले कहिले पाउने ?’

टिप्पणीहरू