मध्यपूर्वका व्यवसायीको आक्रोश : दूतावास हो कि दलाल केन्द्र ?

मध्यपूर्वका व्यवसायीको आक्रोश : दूतावास हो कि दलाल केन्द्र ?

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले युएईस्थित नेपाली दूतावासको श्रम शाखाले वैदेशिक रोजगार व्यवसायीमा भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । मञ्चले दूतावासको श्रम शाखामा बढ्दो लापरबाही, ढिलासुस्ती र अन्यायपूर्ण व्यवहारले उक्त आरोपलाई पुष्टि गरेको दाबी गरेको छ । 

एउटै डकुमेन्ट, प्रक्रिया र प्रणालीमार्फत पठाइएका कागजात स्वीकृतिमा कुनै म्यानपावरको दुई–चार दिनमै र अर्कोको २५–३० दिनसम्म अड्काउने गरिएको भन्दै मञ्चले प्रश्न गरेको छ, ‘के यो पारदर्शिता हो ? कि निश्चित प्रक्रिया कब्जा गरेर ढोका त तपाईंको तर चाबी हाम्रो भन्न थालेका छन् ?’ 

आफूहरु अवैध मागको विरोधमा रहेको र कानूनी प्रक्रियाभित्र रही समयमै सेवा पाउने हकमाथि यसरी खेलबाड गर्नु आपत्तिजनक मात्र नभई अपराध नै भएको मञ्चको ठहर छ । ‘यो दूतावास हो कि दलाल केन्द्र ? काम नगरी अनावश्यक झमेलाको खेती गर्नु, अनि समाधानको नाममा ढोका खोल्न सर्त राख्नु,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

यो सामान्य प्रशासनिक कमजोरी नभई संगठित शोषण भएको जनाउँदै मञ्चले नसुध्रिएमा दूतावासका जिम्मेवार व्यक्तिहरुलाई कार्यशैलीको हिसाब संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय र अन्य जिम्मेवार निकायसँग माग्ने बताइएको छ ।
 

टिप्पणीहरू