फिल्म निर्मातासहित कलाकारहरू माओवादीमा प्रवेश

फिल्म निर्मातासहित कलाकारहरू माओवादीमा प्रवेश

फिल्म निर्माता तथा अभिनेता सुरेन्द्र बरालसहित कलाकारहरूको एक टोली माओवादी केन्द्रमा मिसिएको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजि निवास खुमलटार पुगेर कलाकारहरू माओवादीमा प्रवेश गरेका हुन् ।  

एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको परिषद् सदस्य चन्दु गोर्खाली, कांग्रेस सम्वद्ध लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), फिल्म कलाकार केशर विषी, भीमबहादुर मगरसहित एमालेबाट निर्वाचित रामेछाप नगरपालिकाका एकजना पूर्व वडाध्यक्ष पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्दै प्रचण्डले कलाकारको साथ पाएपछि जनताको पक्षमा काम गर्न माओवादीलाई अझै उर्जा मिल्ने धारणा राखेका थिए । 'तपाईंहरुलाई बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु । अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ । यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन । यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ', उनले भने । 

माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरुले त्यसविरुद्ध गतिविधि गर्ने गरेको प्रचण्डले खुलाए ।

'केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं', उनले भने, 'हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ ।'

नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साउलो)ले लामो समयदेखि आफू कांग्रेसमा आवद्ध रहँदै आएको भएता पनि पछिल्लो समय त्यो पार्टीको गतिविधिले वाक्क भएर माओवादी रोजेको बताए । 'म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ । आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ । त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ', उनले भने ।

टिप्पणीहरू