एनजिओको जग्गा हडप्ने शुकलाल फरार

एनजिओको जग्गा हडप्ने शुकलाल फरार

सेफ नामक संस्थाको जग्गा र घर श्रीमतीका नाममा बिक्री गर्ने संस्थाका पूर्वअध्यक्ष शुकलाल नेपाली र श्रीमती रिना वादीलाई समात्न बाँके जिल्ला अदालतले आदेश दिएको छ । प्रहरीमार्फत बाँके जिल्ला अदालतमा पुगेको ठगी मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले जेठ ४ गते जिल्ला प्रहरी कार्यालय बाँकेलाई पक्राउ अनुमति दिएको हो । अदालतले आदेश दिए पनि जिल्ला प्रहरी कार्यालय बाँकेले २ महिना बित्न लाग्दासमेत उनीहरूलाई पक्रन सकेको छैन ।

अदालतले जेठ १८ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्राचार गर्दै उक्त घरजग्गा रोक्का राख्न निर्देश गरेको छ । अदालतले आदेश दिँदासमेत उनीहरू पक्राउ पर्न नसक्नु र एनआइसी बैंकले घर, जग्गा लिलामीको तयारी गरिरहेको उल्लेख गर्दै संस्थाका पदाधिकारीले संस्थाको सम्पत्ति जोगाउन आवश्यक सहयोगको आह्वान गर्नु एकैचोटि भएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले गैससहरूको सम्पत्ति विवरण संकलन गर्ने भन्दै समिति बनाएर केही समयका लागि बेचबिखन रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको लामो समय बितिसक्दासमेत न सम्पत्ति विवरण यकिन गरियो न यो निर्णय नै बदलियो । तर, बाँकेको एक यस्तो संस्था छ, जसलाई यो सरकारी नियम त लागू भएन, भएन, सो संस्थाका अध्यक्षले करोडौं पर्ने संस्थाको घरजग्गा आफ्नी श्रीमतीको नाममा गराइदिए ।

वादी समुदायका लागि काम गर्दै आएको सोसल अवेरनेस फर एजुकेशनल (सेफ) का पूर्वअध्यक्ष शुकलाल नेपाली (वादी) ले नेपालगञ्ज–६ एकतानगरस्थित चार करोड बढी मूल्य पर्ने कार्यालय भवनसहितको जग्गा श्रीमतीलाई बिक्री गरेको देखाएर हिनामिना गरिदिएका हुन् । संस्थाका नाममा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना वादीका नाममा पास गराएको बताइन्छ । बाँकेकै पुराना गैससमध्येको हो सेफ नेपाल । जसका संस्थापक अध्यक्ष दिलिप परियारलाई पाखा लगाई शुकलाल अध्यक्ष बनेर एक दशकभन्दा बढी समय चलाएका थिए । प्लान, सेभ द चिल्ड्रेनलगायत वैदेशिक संस्थाको करोडौं सहयोग भ्रष्टाचार गरेर संस्थालाई नै बदनाम गराई विभिन्न मुद्दा, मामिलामा फसेका शुकलालले संस्था बन्द भएको दशकपछि नवीकरण गरेर पुनः आफू अध्यक्ष भएका थिए । शुकलालकी श्रीमतीले एनआइसी एसिया बैंकको कम्दी शाखामा धितो राखेर ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाका नाममा १ करोड ५० लाख रूपैयाँ एनआइसी एसिया फास्ट ट्रयाक व्यवसाय कर्जा लिएको पाइएको छ ।

संस्थाका अध्यक्ष शुकलालले २०७५ असार २१ मा नेपालगञ्ज–७ फुल्टेक्राको एकतानगरमा रहेको ११ ‘क’ कि.नं. १३०२ को ४ कठ्ठा जग्गा २७ लाख रूपैयाँमा बिक्री गरेको देखिएको छ । सेफ नेपालको हालका अध्यक्ष अभिषेक नेपालीले पदभार ग्रहण गरेको लामो समय बित्दा पनि जग्गा र घरको लालपुर्जा भेटेनन् । अध्यक्ष नेपालीले मालपोतमा गएर बुझ्दा बर्दिया पाताभार–२ की ४६ वर्षीया रिना वादीलाई राजीनामा गरिदिएको पत्र फेला परेपछि यो अनियमितता र भ्रष्टाचारको पोल खुलेको थियो । मालपोत कार्यालय नेपालगञ्जमा २०७५ असार २१ मा जग्गाको राजीनामा रजिस्ट्रेसन भएको देखिन्छ ।

 

टिप्पणीहरू