फेरि आन्दोलनमा उत्रिने डाक्टरहरुको तयारी
सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरूले पुन: आन्दोलनको चेतावनी दिएका छन् ।
आज विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले आफूसँग भएको सहमति अविलम्ब कार्यान्वयन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेर उपभोक्ता अदालतले चिकित्सकीय मुद्दाहरुमा फैसला सुनाएको भन्दै गत असार २३ गते देशभरका डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए । भोलिपल्ट तीन मन्त्रीको सहभागितामा उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानूनी तथा नीतिगत व्यवस्था संशोधन गर्ने सहमति भएको थियो ।
सहमतिबमोजिम विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदलद्धारा कानून संशोधनको विषयमा सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने भनिएता पनि हालसम्म ठोस प्रतिफल नदेखिएको र कार्यदल पूर्ण रुपमा निष्क्रिय रहेको संघको ठहर छ ।
‘सरकारमा रहेका उच्च पदस्थ अधिकारीहरुसँग भएको सहमतिसमेत समयमा पालना नहुँदा उक्त पदाधिकारीको मौखिक वा लिखित प्रतिबद्धतामाथि भविष्यमा समेत विश्वास गर्ने कुनै आधार नरहेको र यसबाट नेपाल सरकारको विश्वासनीयता पनि गुम्ने स्थिति सिर्जना हुनेप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
सहमति अविलम्ब कार्यान्वयन नगरेर आफूहरुलाई पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थिति सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुने संघको चेतावनी छ ।
टिप्पणीहरू